नवराज भुसाल
करिब साउनको मध्यतिरबाट गाउँमा मादलको टुङ्ग आवाज सुनिन्थ्यो । बालपनको चञ्चलता अनि तिज गीत सुन्ने उत्सुकता यति धेरै हुन्थ्यो कि एकछिन पनि घरमा बस्न मन लाग्दैनथ्यो। तर त्यो समय दिउँसो गीत गाइने चलन थिएन; तिजका नजिकका केही दिनबाहेक अरू बेलामा तिज गीत बेलुकी मात्र गाइन्थ्यो। साउन-भदौको मध्य बर्खा, खेतबारीको कामको चटारोले गर्दा दिनको समयमा कसैलाई फुर्सद नै हुँदैनथ्यो । हामी त सानै, बुवा-आमाको साथबिना कतै जान अनुमति पनि मिल्दैनथ्यो।
गाउँमा तिज गीत गाउने साँझ विशेष हुन्थ्यो। जसरी गुरुङ-मगर समुदायमा रोधी बसिन्छ, त्यस्तै खालको आत्मीय जमघट हुन्थ्यो। कसैलाई मादलको जोहो गर्ने जिम्मा लगाइन्थ्यो। साँझ पर्नेबित्तिकै गाउँका महिला,दिदीबहिनी, आमाहरू र पुरुषहरू पनि जम्मा हुन्थे। त्यसपछि सुरु हुन्थ्यो तिज गीतको मधुर स्वर। ती गीतहरूमा नारीको पीडा, जीवनका संघर्ष र सामाजिक कथा गुन्जिएका हुन्थे।
गीतका शब्दमा थियो “मकैको पातला… जन्मेको ठाउँमा मरनु छैन… तारा–जुन छोरीको जातला…” यस्ता भाका गाउँको भावना मात्र होइन, नारीको वेदना र आकांक्षाको प्रतिनिधि हुन्थे। यस्तो जमघटले गाउँमा आत्मीयता बढाउँथ्यो, सामाजिक एकता मजबुत पार्थ्यो।
तिजको अघिल्लो दिन, अर्थात् दर खाने दिनभन्दा अघिल्लो दिन प्रायः बिहे भएका दिदीबहिनीहरू माइत आउँथे। आमाहरू र काकी-आंटीहरू पनि माइत जाने दिन त्यही हुन्थ्यो। दिदीबहिनी र भान्जा-भान्जीको उपस्थितिमा गाउँका हरेक घरहरू अझ रमाइला लाग्थे।
दर खाने दिन र तिजको दिन भने गाउँमा दिउँसो नै गीतगाइन्थ्यो। यसलाई आमाहरूले “डाँडामा जाने” भन्थे। आउँभरकै सबैलाई पायक पर्ने चौतारो वा विद्यालयको चौरमा ठूलो जमघट हुन्थ्यो। गाउँका सबै जना आउने भएकाले फरक–फरक समूह बनाएर गीत गाइन्थ्यो। छत्यौरे केटाहरूको काम मादल बजाउने, हुटिङ गर्ने र उठबस गराउँदै माहोललाई अझ रमाइलो बनाउने हुन्थ्यो।
भान्सामा बारिको ताजा फर्सीको मुन्टा, सिमी, बोडी, तामा मिसाएर बनाएको तरकारी पाक्थ्यो, छेउमा भर्खर ब्याएको लैनु भैंसीको घ्यू राखेर खान पाइन्थ्यो र त्यही खाना ‘दर’ हुन्थ्यो। खाना सकेपछि दिदीबहिनीहरू रातो सारीमा लस्करै डाँडातिर लाग्थे। केही समयमै दोहोरो मादलको आवाजले गाउँ गुन्जिन्थ्यो।
केटाकेटीहरू भने आफ्नो दुनियाँमा गुच्चा र भुरुङ (लट्टु) खेल्दै रमाउँथे। गोजीमा राखेका गुच्चा खनखन्याउँदै हिँड्दा छ्याङछ्याङ आवाज आउँथ्यो। कतिपय बेला पढाउने सर भेटिए “ओए लन्ठु, पढ्ने हो कि गुच्चा खेल्ने?” भन्ने डायलाग सुन्नुपर्ने डर हुन्थ्यो। कहिलेकाहीँ त सारा गुच्चा र भुरुङ जफत पनि हुन्थ्यो। त्यसैगरी एकजना दाइले मेरो भुरुङ फालिदिदा मैले उहाँलाई कम्ती गाली गरेको छैन, अहिले सम्झिदा रमाइलो लाग्छ ।
किराना पसलका दाइ पनि त्यस दिन भ्याइनभ्याइ हुन्थे। डाँडोमा आएका दिदीबहिनी, बच्चा र गाउँका केटाकेटीलाई चाउचाउ, बिस्कुट, चटपटे बेच्थे। कतिले समोसा र जेरि पनि ल्याउँथे। गाउँमा वसन्तपुर युवा क्लब थियो , म अहिले जसको अध्यक्ष छु। त्यतिबेला दर खाने दिन तिज गीतको प्रतियोगिता पनि गरिन्थ्यो। तर अहिले त्यो सम्भव छैन, युवाहरू दशै–तिहारबाहेक गाउँमा आउँदैनन् । कार्यक्रम गर्नै गाह्रो हुन्छ।
पोहोर साल साथीहरूले तिजमा गाउँ गएको बेला खिचेका फोटो र भिडियो सामाजिक सञ्जालमा राखेका थिए। म जान पाइनँ। हेर्दा त्यो डाँडो, त्यो ठाउँ, उस्तै थियो तर भीड थिएन। केही दिदीबहिनी र आमाबुबा जम्मा भएर गीत गाएका थिए, तर त्यो पुरानो जस्तो चहलपहल थिएन। छ्याङछ्याङ गर्दै गुच्चा खेल्दै हिँड्ने बालबालिका थिएनन्। गाउँ सुनसान भएको छ ।
बरु गाउँबाट बजारतिर झरेका मानिसहरूले विभिन्न सम्पर्क समाज र समूहको नाममा शहरमा दर खाने फंक्शन राखेका तस्वीर सामाजिक सञ्जालमा देखिन्छन्। चाडपर्वमा आधुनिकता थपिएको छ, तर मौलिकता बिर्सिँदै गएको छ।
ती मादलका आवाज, ती पुराना भाका, त्यो सामाजिक आत्मीयता – सबै हाम्रो साझा सांस्कृतिक सम्पदा हो। यसलाई बचाउनु, पुनः जीवन्त बनाउनु हाम्रो कर्तव्य हो। नत्र कतै पुरानो सम्झनामा मात्र सीमित नहोस्, तिजको वास्तविक रौनक।
