✍️ बरुण ज्ञवाली
जीवनमा बुबा आमासँग तीर्थयात्रा जाने रहर थियो। कहिले के कहिले कस्ता स्वरूपमा आइपर्ने बाध्यताले त्यो रहर पूरा हुन सकिरहेको थिएन । यो पटक भने दशैको समय पारेर मुक्तिनाथ जाने अवसर जुर्यो । असोजको १२,१३,१४ गतेका दिन पवित्र मुक्तिनाथ यात्राको मिति तय भयो। मुक्तिनाथ हिन्दु र बौद्ध दुबै धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो । हिन्दुहरुका लागि मुक्तिक्षेत्र , र बौद्धहरुका लागि ‘छुमिङ ग्यात्सा’ अर्थात सय पानि भनेर चिनिने पावन भूमि हो । जहाँका १०८ धारामा स्नान गरेपछि पाप धुने,आत्मा शुद्ध हुने र मोक्ष प्राप्त हुने विश्वास छ।
पहिलो दिन :- असोज १२
जाने भनेर दिमागमा चित्र त बनाइयो तर त्यो चित्रलाई यथार्थमा परिणत गर्न धेरै साधनहरु नै आवश्यक पर्ने रहेछ। दशैको समय भनेर गाडीले पनि महँगो नै लियो। असोजको १२ गते बिहान १२ बजेबाट शुरु भएको यात्रामा ५:३० तिर पोखरा पुग्यौ । हाम्रो योजना त पोखरा गएर बस्ने थियो तर ड्राइभरको भोलिको लागि बाटो छोटिन्छ भन्ने कुराले योजना परिवर्तन भयो। पानी परिरहेको थियो, घुम्ने राम्रो मौसम पनि उचित नभएको कारणले हामी ड्राईभरको कुरामा सहमत भयौ ।पोखराबाट बाटो सोध्दै बेनी पुग्ने भनेर बाटो लाग्यौ। हेम्जा,कुस्मा हुँदै बेनी पुगियो, करिब ३:३० घण्टा लाग्ने रहेछ बेनी पुग्न । बेनीको बजार जता माया उतै छ नजर भनेजस्तै हामी चै कता खाने कता बस्ने भनेर नजर लगायौ ,हामी नजरमा नजर मिलाएर लामा दाइको होटलमा पुगियो। बेनी बजार म्याग्दी र पर्वतको सीमानामा पर्दो रहेछ। लामा भान्छाघरमा भान्छा तयार गरी खोप्रा नाम गरेको कोठामा आमा,बुवा र म सुत्ने तय गर्यौ। सानै उमेरमा काम गर्नको लागि काठमाडौं नजिक पर्ने नुवाकोटबाट त्यहाँ आएर काम सिक्दै सिकाउदै अहिले आफ्नो होटल बनाएर चलाएका रहेछन होटलका मालिकले आन्तरिक र बाह्य पर्यटकहरुको लागि बेनिमा स्वागतयोग्य होटल तयार गरेका रहेछन। होटलमा खाना खाएर बसिरहेको थिए । डुक,,डुक,,,डुक गर्दै २ ओटा बुलेट बाईकमा २ जोडी आए। हेल्मेट खोलेर एकजनाले मसँग हात मिलाए । म चै उनको हल्का धुलो,बाईकको क्लजको कालो मेरो हातसँगको स्पर्शको कारण खोज्दै थिए। मैले सोधे:- हाम्रो कतै भेट भएको थियो? उनले पनि निधारको छाला खुम्चाउँदै तपाईलाई यो भन्दा पहिला कतै देखेको हो तर याद भएन भने। मैले होइन भनेर भन्नु उचित ठानिन र कुनै लिकंलाई घुसाउन सकिन्छ कि भनेर लख काटे। म:-“Rotaract मा हुनुहुन्छ?”
उ:- छैन।
मः- MRR मा ?
उ:- नाई नाई
यति पनि नमिलेपछि तपाई के गर्नुहुन्छ भनेर सोधे। म MR (medical representative ) नारायणगढ Area हो। मैले छोटो समयमा यसलाई बढाउन खोजिन, हुन त मैले चिनेका MR साथीहरु पनि थिए तर होला कतै भनेर मुन्टो हल्लाए। अगाडि Tv मा भारत पाकिस्तानको Asia cup Final चलिरहेको थियो । खेल हेर्न लायक नै थियो तर अन्तिम तिर भारतले आफ्नो पोल्टामा पारेर नै छोड्यो। बधाई छ भारत भन्दै सुत्न गए।
दोश्रो दिन
यात्राको दोश्रो दिन आमा, बुवा घरमा जस्तै सबेरै उठ्नुभएको रहेछ ,उहाँहरुको खुसुखुसु आवाज मेरो कानमा गुन्जिएपछि निदरी खुल्यो एकाएक मोबाइल हेरे। ७ बजिसकेको रहेछ। ड्राईभरलाई ८ बजे हिड्ने भनेर हिजो नै भनेको कारणले बिहानमा गर्ने सबै शारीरिक अभ्यास नगरी फलफुल खाइयो । चालकलाई फोन गरेको कपाल काटेर आउँछु भन्दै थियो । उसको कपालले पनि आधा घण्टा लगायो।
बेनीबाट ८:३० मा मुस्ताङको यात्रामा अघि बढ्यौ। बाटोमा देखिने रुप्से झरना र अन्य झरनाहरु, साना तिना खहरे खोलाहरु, कालो हल्का बग्न लागेको माटो, तल एकनासले स्वाहहहह गर्दै बगिरहेको कालीगण्डकी आदि देख्दा नेपाल साॅच्चै नै सुन्दर छ भनेर भन्न कुनै पनि कोणबाट मनले छोडेन । गाडीमा हिड्दै गर्दा खोलाको आवाज, झरनाको आवाज, रुख बिरुवा, खाली बाटो साच्चै नै दिमाग र ऑखाको लागि खुराक नै थिए। प्रकृति नै हामी हौ र हामी पनि प्रकृति नै हौ । म त्यतिबेला प्रकृतिमा समाहित भएको थिए। मुस्ताङको बाटोमा स्याउका दानाहरु कमै थिए, जोमसोम पुगेर किन यस्तो भयो भनेर बुझ्दा दशैको लागि धेरै मात्रामा टिपेर बजार लगेकाले भन्ने उत्तर हामीलेपायौ। बाटोमा शेर्पा आमाको होटल याक एन्ड यतिमा ५५० को खाना खाएर हामी मुक्तिनाथतर्फ लाग्यौं। गाडीबाट करिब २० मिनेट हिड्नु पर्ने रहेछ एक्छिन हिडेपछी आमाको शरीर थकित बन्यो । घोडा सवारमा आमा र बुबा चढ्नु भयो।ड्राईभर र म हिड्दै उकालो लाग्यौं। घोडा चडेपछि पनि हिड्न पर्ने भएकाले आमाले गारो महसुस गर्नु भएको थियो। एकैछिनको आराम पछि हामी मुक्तिनाथ मन्दिर पुग्यौ। मन्दिर, कुण्ड र बगिरहेको हिमालको पानीले आमालाई शान्त बनाइरहेको थियो। १०८ धारामा स्नान र कुण्डमा डुबुल्की लगाएपछि एकदमै चिसो महसुस भयो। त्यही पुजा आर्धना र तस्विर पछि ओरालो लाग्यौं।
मुक्तिनाथबाट फर्केर कागबेनीमा पितृलाई सम्झिने भन्ने परम्परा रहेछ। बुबा आमाले त्यतै श्राद्ध गर्नु भयो।त्यसपछि सोझै जोमसोम पुगेर स्याउ र स्याउको सुकुटी आदि किनमेल गरियो। अब चै ड्राईभरले दशैँ सम्झिएछ कि छिटो घर पुग्न गाडी दौडाउन थाल्यो। यस्पाली चै हाम्रो काइली फुपुको निधन भएको बर्ष पूरा नभएको हुनाले टीका नलगाउने निधो गरेका थियौं । बुबा-आमाको खाना र बास पहिले मुक्तिनाथ जाँदा नै गरेको रिभ्यु अनुसार जाॅदा जुन होटलमा खाना र बास थियो त्यसैमा जाने सोच बन्यो। होटल याक एन्ड यतिमा खाना त खायौ तर बाटो पानी र धुपले अगाडी बढ्न नसकिने थियो। अगाडी बढ्ने कि नबढ्ने सल्लाहमा एकैछिन रोकियो एकैछिनमा एउटा पछडिबाट एउटा गाडी हामिबाट अगाडि बढ्यो। त्यस्को पछाडी पछाडी गर्दै बेनि ११ बजे आउपुगियो र जादा बसेकै लामा दाईको होटलमा सुतियो।
तेस्रो दिन
आज यात्राको अन्तिम दिन। घुम्ने योजना पोखराको। लामा भान्छाघरको बाक्लो वेडमा अझै सुत्न मन थियो तर जति छिटो उठियो त्यति घुम्न पाइन्छ भन्ने लोभले छिटो उठ्नका लागि प्रेरणा दियो। आमा बुबाको बेडको छेवैमा भएको कोन्का कम्पनीको तातोपानीको कित्लीमा पानी तताउंदै हुनुहुन्थ्यो। म पनि उठेर होटेलमै रहेको Free वाला ब्रश र मन्जनले दाॅत माझे। यस्तै फ्रेश भएर गाडी ड्राइभरलाई कल गरे, ला…फोन त अफ छ। हतार हतार गर्दै उस्को कुन कोठा छ भनेर लामा दाइ सॅग सोधे। Y १७ न. कोठामा जुत्ता लगाउदै थियो म जाने बित्तिकै जाम… जाम…. भन्दै थियो उसलाई गाडी निकाल्न भनेर म कपडा मिलाउन गएँ । मुस्ताङबाट ल्याएको स्याउ काट्न लगाएर आमाबुबाले खाँदै हुनुहुन्थ्यो मुखबाट चप चपको आवाजमा। म होटलको बिल तिरेर फेरि आउने छौ भन्दै बेनीलाई ऑखाले अघाउन्जेल हेरेर बिदाइ गरे ।त्यहाँबाट सोझै बाग्लुङ कालिका मन्दिर दर्शनमा जुट्यौ, बाग्लुङ कालिका दर्शन गरी रफ्तारमा पोखरा आइपुगियो। बाटोमा पर्ने बिन्दबासिनी मन्दिर जादै गर्दा रोट्याक्टबाट चिनजान भएकि बहिनि सुजु दाहाल बहिनि उनको मम्मि र उनको बहिनिसँग भेट गरियो। त्यसपछि तालबाराही मन्दिर घुमेर लेकसाइडको भेजिटेरियन होटलमा खाना खाएपछि घर फर्कने जमर्कोमा जुटियो। बाटोमा पर्ने गलेश्वर गुफामा अबलोकन गरी हाम्रो भ्रमण समाप्त भयो र करिब २ बजेतिर पोखराबाट हिडेर ६ बजे बुटवल घरमा आइपुग्यौ ।
