बुटवल, असार १४। बुटवल उपमहानगरपालिकाको सहयोगमा, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) को आयोजनामा तथा रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी, रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजसहित ३१ वटा रोट्रयाक्ट क्लबहरूको सह–आतिथ्यमा १९औँ डिष्ट्रिक्ट एसेम्ब्ली तथा दोस्रो प्रेसिडेन्ट–सेक्रेटरी (पीएस) मिट बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भव्य एवं सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रममा नेपालभरका करिब १८० रोट्रयाक्ट क्लबका ८ सयभन्दा बढी रोट्रयाक्टर सहभागी भएका थिए। सम्मेलनले आगामी रोटरी वर्षका लागि नवनिर्वाचित अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा क्लब नेतृत्वलाई नेतृत्व विकास, क्लब व्यवस्थापन, प्रभावकारी सेवा परियोजना सञ्चालन, सदस्यता अभिवृद्धि, संगठनात्मक सुदृढीकरण तथा रोटरीको आदर्श र मूल्यअनुसार प्रभावकारी नेतृत्व विकाससम्बन्धी विशेष प्रशिक्षण प्रदान गरेको थियो।कार्यक्रमको उद्घाटन रोटरी क्लब अफ बुटवल साउथका चार्टर्ड प्रेसिडेन्ट डा. आर.सी. आचार्यले गर्नुभएको थियो। सम्मेलनमा डिष्ट्रिक्ट सेमिनार, नेतृत्व विकास प्रशिक्षण, विषयगत छलफल, आगामी वर्षको कार्ययोजना प्रस्तुति तथा डिष्ट्रिक्ट एसेम्ब्ली सम्पन्न भएको थियो। साथै, क्लब सञ्चालनका उत्कृष्ट अभ्यास, सदस्य विकास, प्रभावकारी परियोजना व्यवस्थापन, सार्वजनिक छवि अभिवृद्धि, वित्तीय व्यवस्थापन तथा आगामी रोटरी वर्षका प्राथमिकताका विषयमा समेत विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका अवसरमा उत्कृष्ट रोट्रयाक्ट क्लब तथा पदाधिकारीहरूलाई विभिन्न १० विधामा सम्मान प्रदान गरिएको थियो। साथै, देशभर सञ्चालन भएका करिब ९ हजार सेवामूलक परियोजनाको समीक्षा गर्दै आगामी वर्षका योजना तथा रणनीतिबारे समेत विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ। सम्मेलनमा सहभागी रोट्रयाक्टरहरूले आफ्नो क्लबबाट सञ्चालन गरिएका सफल सेवामूलक कार्यक्रम, नवीन अभ्यास तथा उत्कृष्ट परियोजनाका अनुभवहरू समेत आदान–प्रदान गरेका थिए।
आयोजकका अनुसार सम्मेलनले नेपालभरका रोट्रयाक्टरबीच सहकार्य, नेतृत्व विकास, सेवा भावना, व्यावसायिक क्षमता अभिवृद्धि तथा मित्रतालाई अझ मजबुत बनाउँदै आगामी रोटरी वर्षका लागि साझा लक्ष्य र कार्ययोजना तय गर्न महत्वपूर्ण भूमिका खेलेको छ। ३१ वटा रोट्रयाक्ट क्लबहरूको सह–आतिथ्यमा सम्पन्न यस सम्मेलनले डिष्ट्रिक्टभित्र रहेका क्लबहरूबीच आपसी समन्वय, सहकार्य, एकता र सेवाप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको विश्वास आयोजकले व्यक्त गरेको छ।
सम्मेलन सफलतापूर्वक सम्पन्न भएसँगै सहभागी रोट्रयाक्टरहरूले आगामी वर्षभर समुदाय केन्द्रित सेवामूलक कार्यक्रमलाई अझ प्रभावकारी, दिगो र परिणाममुखी बनाउँदै रोटरीको आदर्शलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आयोजकका अनुसार १९औँ डिष्ट्रिक्ट एसेम्ब्ली तथा दोस्रो पीएस मिटले नेतृत्व हस्तान्तरण, क्षमता विकास, अनुभव आदान–प्रदान तथा डिष्ट्रिक्टस्तरीय समन्वयलाई थप मजबुत बनाउँदै आगामी रोटरी वर्षका लागि उत्साहजनक वातावरण सिर्जना गरेको छ।
