मालारानी गाउँपालिका–१ का बहुप्रतिभाशाली शिक्षक तथा शब्द रचनाकार राजिव सुवेदीले आफ्नो दोस्रो सांगीतिक कोसेली “नाइ बाबा, नाइ मम्मी” बजारमा ल्याएका छन्। तिज पर्वलाई लक्षित गरी तयार पारिएको यस आकर्षक गीतले परम्परा र आधुनिकतालाई सुन्दर रूपमा मिसाएको छ।
यो सांगीतिक सिर्जनामा लोकप्रिय गायक अर्जुन सापकोटा र शान्ति श्री परियारको सुमधुर स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ। अभिनयमा पनि अर्जुन सापकोटा स्वयं र गीता ढुङ्गानाको जीवन्त प्रस्तुति रहेको छ, जसले गीतको भावनालाई पर्दामा उत्कृष्ट रूपमा उतारेका छन्।
गीतको संगीत संयोजन श्रीधर अधिकारीले गरेका छन् भने यसका गहकिला र मन छुने शब्दहरू सुवेदीकै कलमबाट निस्केका हुन्। सुबेदीकै शब्दले सामाजिक सन्देश र तिजको सांस्कृतिक स्वाद दुवैलाई सजीव रूपमा प्रस्तुत गरेको छ।
“नाइ बाबा, नाइ मम्मी” ले परम्परागत तिज गीतहरूमा नयाँ ढंगको स्वाद दिन खोजेको छ। गीतमा युवापुस्ताको सोच, महिला सशक्तिकरण र पारिवारिक सम्बन्धको सूक्ष्म चित्रण गरिएको छ।
सुवेदीले दर्शक तथा स्रोतालाई यो सिर्जना हेरी/सुनी साथ, समर्थन र हौसला प्रदान गर्न हार्दिक अनुरोध गरेका छन्। उहाँका अनुसार, “हाम्रो मौलिक संस्कृति र चाडपर्वलाई समेट्दै सिर्जना गरिएको यो गीत सबैका मन छुने छ भन्ने विश्वास लिएको छु।”
तिजको रौनक बढाउने यो गीत अहिले युट्युब तथा सामाजिक सञ्जालमा उपलब्ध छ।
