सिद्धार्थनगर , रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सिद्धार्थनगर समितिले गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
समितिले जारी गरेको विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, घाइते, विस्थापित तथा प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गर्दै शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाको काम प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
बाढी प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सिद्धार्थनगर समितिले रु. १ लाख १ हजार १११ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरेको जनाएको छ।
समितिले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, विभिन्न संघ–संस्था तथा सहयोगी हातहरूबाट भइरहेका प्रयासप्रति धन्यवादसमेत व्यक्त गरेको छ।
विज्ञप्तिमार्फत समितिले पीडित नागरिकलाई सहयोग गर्न सबैलाई आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न हार्दिक आह्वान गरेको छ।नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सिद्धार्थनगर समितिका सचिव सन्दीप रसाइली र अध्यक्ष पदम राज भुसालद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा मानवीय सहयोग र ऐक्यबद्धतालाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइएको छ।
