अर्घाखाँची ,
रोटरी क्लब अफ बुटवल डाउनटाउन तथा बेसिक एजुकेसन एन्ड लिटरेसी कमिटी, रोटरी डिस्ट्रिक्ट ३२९२ को आयोजनामा सञ्चालित २५ दिने फङ्क्सनल लिटरेसी परियोजना अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१२, डिबरणा ठाकुरामा सफलतापूर्वक सम्पन्न भएको छ।परियोजनाको समापन समारोहको अध्यक्षता बाबुराम बञ्जाडेले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो। कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका सचिव योगेन्द्र पन्थी, रोटर्याक्ट क्लब अफ बुटवल डाउनटाउनका सचिव केशव पौडेल, बोर्ड सदस्य तिलक अधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।विशेष गरी महिला तथा आमाहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस परियोजनामार्फत मोबाइल फोनको आधारभूत प्रयोग, हस्ताक्षर गर्न सिकाउने तथा दैनिक जीवनमा आवश्यक कार्यात्मक साक्षरतासम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। परियोजनाको उद्देश्य सहभागीहरूलाई आधुनिक प्रविधिको सामान्य प्रयोगसँग परिचित गराउनुका साथै दैनिक जीवनमा आवश्यक साक्षरता सीप विकास गर्नु रहेको आयोजकले जनाएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले यस्ता कार्यक्रम समुदायको सशक्तीकरणका लागि अत्यन्तै उपयोगी रहेको बताउनुभयो। उहाँले रोटरी क्लबले सञ्चालन गरेका यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा सन्धिखर्क नगरपालिकाका अन्य वडाहरूमा पनि रोटरी क्लबसँग सहकार्य गरी कार्यात्मक साक्षरता कार्यक्रम सञ्चालन गर्न नगरपालिका सकारात्मक रहेको जानकारी दिनुभयो। साथै, यस्ता अभियानलाई निरन्तरता दिन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
२५ दिनसम्म सञ्चालन भएको यस परियोजनाले सहभागी महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै डिजिटल तथा कार्यात्मक साक्षरताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको भनाइ छ। परियोजनाको सफल समापनसँगै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।रोटरी क्लब अफ बुटवल डाउनटाउनले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायमा शिक्षा, साक्षरता तथा क्षमता अभिवृद्धिका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ।
