बुटवल, असार ९ (२०८३)
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले ईसेवासँग गरेको “ईसेवा केयर इन्स्योरेन्स” सम्बन्धी सम्झौता आजदेखि औपचारिक रूपमा लागू भएको छ। क्लबले यसलाई आफ्नो इतिहासमै पहिलो बीमा कार्यक्रमको रूपमा माइलस्टोन उपलब्धि भनेको छ।उक्त सम्झौता जेठ ३० गते रोट्रयाक्ट युथ आइकनको ग्रान्ड फिनालेको अवसरमा सम्पन्न गरिएको थियो। सोही सम्झौता आजदेखि पूर्ण रूपमा कार्यान्वयनमा आएको हो।यस बीमा योजनाबाट कुल ७३ जना लाभान्वित हुनेछन्। लाभग्राहीहरूमा रोट्रयाक्ट युथ आइकनका २७ सहभागी, केही चयनित पूर्व अध्यक्षहरू, मुख्य प्रशिक्षक, मुख्य निर्णायक, बोर्ड सदस्यहरू तथा बीमा सुविधा नभएका सक्रिय सदस्यहरू समावेश छन्।सम्झौतामा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आरटिआर आभिष्कार खनाल र ईसेवाका प्रतिनिधि श्री गोपाल न्यौपानेले हस्ताक्षर गरेका थिए। यो सम्झौता रोट्रयाक्ट युथ आइकनको ग्रान्ड फिनालेको विशेष अवसरमा सम्पन्न भएको हो।
यस बीमा योजना अन्तर्गत दुर्घटनाको अवस्थामा उपचार खर्चका लागि अधिकतम एक लाख रुपैयाँसम्मको सुविधा तथा दुर्घटनाबाट मृत्यु भएमा एक लाख बीस हजार रुपैयाँसम्मको क्षतिपूर्ति उपलब्ध हुनेछ। यो सुविधा सडक दुर्घटना, सवारी दुर्घटना, खेलकुदका क्रममा हुने चोटपटक लगायत विभिन्न आकस्मिक दुर्घटनामा लागू हुनेछ।बीमा सुविधा एक वर्षको अवधिका लागि मान्य रहनेछ भने तोकिएको सीमाभित्र धेरै पटक दाबी गर्न सकिने व्यवस्था रहेको छ। यो सेवा नेपालभरका सरकारी तथा निजी अस्पतालहरूमा लागू हुनेछ। क्लबले सदस्यहरूको सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्दै ल्याइएको यो कार्यक्रमले सदस्यहरूलाई थप सुरक्षा, आत्मविश्वास र सेवा भावनामा मजबुती प्रदान गर्ने अपेक्षा गरेको छ।
