फ्लेयरकोड इन्स्टिच्युटको १०औँ वार्षिकोत्सव सम्पन्न, ५ लाखको छात्रवृत्ति कोष स्थापना ।

बुटवल, माघ ११

हस्पिटालिटी तथा कफी तालिम क्षेत्रमा पश्चिम नेपालकै अग्रणी संस्था फ्लेयर कोड इन्स्टिच्युट अफ हस्पिटालिटी ले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। बुटवलमा आयोजित विशेष समारोहमा संस्थाले दश वर्षको यात्राको समीक्षा गर्दै कफी क्षेत्रको सम्भावनाबारे बृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गर्नुका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत ५ लाख रुपैयाँको ‘उज्ज्यालो भविष्य छात्रवृत्ति कोष’ स्थापना गर्ने घोषणा गरेको हो। दश वर्षअघि सामान्य बारटेन्डर तालिमबाट सुरु भएको फ्लेयर कोडले हालसम्म १० हजारभन्दा बढी युवालाई व्यावसायिक सीप प्रदान गरिसकेको छ भने हाल बारटेन्डर, ब्यारिस्ता (कफी), सुसी तथा बेकरी विधामा अन्तर्राष्ट्रियस्तरको तालिम सञ्चालन गर्दै आएको छ। तालिमसँगै नेपाली कफीको खेती, प्रशोधन, रोस्टिङ तथा इटालियन कफी मेसिनको बिक्री–वितरणमार्फत पश्चिम नेपालमा एकछत्र पहिचान बनाएको संस्थाले जानकारी दिएको छ।

वार्षिकोत्सवको मुख्य आकर्षणका रूपमा नेपाली कफीको बजारीकरणमा सरोकारवालाको भूमिका विषयक प्यानल छलफल सम्पन्न भएको थियो, जहाँ सहभागी विज्ञहरूले नेपाली कफीको स्वाद र गुणस्तर विश्वस्तरीय भए पनि मागअनुसार उत्पादन हुन नसकेको, युवाहरूले गुनासोभन्दा अवसर खोज्दै कृषि र कफी पर्यटनतर्फ आकर्षित हुनुपर्ने, कफीलाई प्रमुख नगदे बालीका रूपमा विकास गर्न सरकारी नीति तथा लगानी आवश्यक रहेको तथा उत्पादनदेखि ब्यारिस्तासम्मको शृंखलाले ठूलो रोजगारी र आम्दानी सिर्जना गर्ने क्षमता रहेको विषयमा जोड दिएका थिए। छलफलमा ड्याडीज किचनका संस्थापक कमल जंग कुँवर, कफी कृषक समुन्द्र घिमिरे, कफी रोस्टर पूर्ण बहादुर गुरुङ र फ्लेयर कोडका प्रोप्राइटर संजय घिमिरेले कफी उत्पादनदेखि उपभोक्तासम्मको यात्रामा देखिएका चुनौती र समाधानका उपायबारे आफ्ना धारणा राख्नुभएको थियो।कार्यक्रमका प्रमुख अतिथि तथा सफल युवा व्यवसायी कमल जंग कुँवरले नेपालमा अवसर छैन भन्ने धारणा भ्रम मात्र भएको उल्लेख गर्दै आफूले सञ्चालन गरेका आउटलेटहरूमा नेपाली कफी नै प्रयोग गर्ने गरेको तर उत्पादन पर्याप्त नहुँदा समस्या भोग्नुपरेको बताउनुभयो। उहाँले विदेश गएका युवाहरूले त्यहाँ सीप सिकेर स्वदेश फर्केर काम गर्नुपर्नेमा जोड दिँदै त्यस्ता युवाहरूलाई सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै संस्थाकी सञ्चालक बिन्दु खरेलले रुपन्देही जिल्लाका आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थी शिक्षाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले आगामी पाँच वर्षसम्म हरेक वर्ष १ लाख रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो। समारोहमा संस्थामा लामो समयदेखि कार्यरत कर्मचारी तथा विभिन्न माध्यमबाट सहयोग गर्ने शुभेच्छुकहरूलाई ‘मायाको चिनो’ सहित सम्मान गरिएको थियो। को फार्मका सञ्चालक एवं जैविक पर्यटन अभियन्ता समुन्द्र घिमिरे, लुम्बिनी बौद्ध विश्वविद्यालयका व्यवस्थापन विभाग प्रमुख, होटल तथा पर्यटन व्यवसायी, शिक्षण संस्थाका प्रतिनिधि, पत्रकार तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम सुमन पौडेलको सञ्चालन र रमेश पन्थीको व्यवस्थापनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै