बुटवल ,
बुटवलमा रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजको आयोजनामा स्टार्टअप फेस्ट २०२५ आगामी शनिबार आयोजना हुने भएको छ। युवाहरूमा उद्यमशीलताको भावना विकास गर्ने, नयाँ सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमले स्टार्टअप व्यवसायी, उद्यमी, विद्यार्थी, कन्टेन्ट क्रियटर तथा व्यवसाय सुरु गर्न इच्छुक युवाहरूलाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य लिएको छ।कार्यक्रममा सफल उद्यमी तथा उद्योग अगुवाहरूको सहभागितामा प्यानल छलफल, वास्तविक संघर्ष, सिकाइ र सफलताको यात्राबारे प्रेरणादायी अनुभव साटासाट, उद्यमी, स्टार्टअप संस्थापक, विद्यार्थी र लगानीकर्ताबीच नेटवर्किङ सेसन तथा नयाँ व्यवसायिक आइडिया विकासका लागि इन्टरेक्टिभ कार्यशाला र ब्रेनस्टर्मिङ सेसन सञ्चालन गरिनेछ। सहभागीहरूले अनुभवी उद्यमी तथा उद्योग क्षेत्रका नेतृत्वकर्ताबाट प्रत्यक्ष रूपमा सिक्ने, आफ्ना विचार प्रस्तुत गर्ने र व्यावसायिक नेटवर्क विस्तार गर्ने अवसर पाउनेछन्।
रोट्रयाक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेजका अनुसार स्टार्टअप फेस्ट २०२५ ले स्थानीय तथा राष्ट्रिय स्तरका स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गर्दै युवाहरूलाई आत्मनिर्भर, सिर्जनशील र नवप्रवर्तनमुखी बन्न प्रेरित गर्ने विश्वास लिएको छ। ज्ञान, प्रेरणा र सहकार्यको उत्कृष्ट अवसर प्रदान गर्ने अपेक्षा गरिएको यस कार्यक्रममा सहभागी हुन सबै स्टार्टअप व्यवसाय, स्थापित व्यवसायी, उद्यमी, कन्टेन्ट क्रियटर तथा उद्यमशीलतामा रुचि राख्ने सबैलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ।
