बुटवल ,
सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलमा स्नातकोत्तर तह दोस्रो सेमेष्टरको आयोजनामा ‘Future Economy Lead by Gen Z’ शीर्षकको वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कुल २२ जना सहभागी प्रतिस्पर्धीहरूको उत्साहपूर्ण प्रस्तुतिसहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख गोपाल प्रसाद चापागाईंको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता टंक प्रसाद घिमिरेले गर्नुभएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चापागाईंले उक्त कार्यक्रम अत्यन्तै उत्कृष्ट र समय–सन्दर्भअनुकूल रहेको उल्लेख गर्दै आयोजक तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले जेन जेड पुस्ताद्वारा भविष्यको आर्थिक स्वरूप सञ्चालन र परिभाषित हुने वर्तमान पृष्ठभूमिमा यस्ता कार्यक्रमहरूले युवाहरूको विश्लेषण क्षमता तथा नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा सम्मानित अतिथि तथा निर्णायक संयोजकका रूपमा नारायण खनाल हुनुहुन्थ्यो। उहाँले कार्यक्रमको विषयमा प्रतिक्रिया दिँदै प्रतियोगिताको उद्देश्य, विद्यार्थीहरूको प्रस्तुति स्तर तथा समग्र व्यवस्थापनबारे आफ्ना धारणा व्यक्त गर्नुभयो।सह–क्याम्पस प्रमुख रामनाथ उपाध्याय र कृष्ण प्रसाद खनाल, ईसीए संयोजक तिर्थराज काफ्ले, तथा अतिथि को रूपमा आविष्कार खनालको उपस्थिति रहेको थियो। सह–प्राध्यापक पुरुषोत्तम ज्ञवाली र जेनिथ शर्माले निर्णायकको भूमिकामा कार्य गर्नुभएको थियो। 
वक्तृत्वकला प्रतियोगिताका संयोजक केशव पौडेलको स्वागत मन्तव्य सगै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सुरु भएको कार्यक्रमको सञ्चालन बबिता चलिसेले गर्नुभएको थियो।
Gen Z आन्दोलनपछिको सामाजिक–आर्थिक अवस्थालाई मध्यनजर गर्दै आयोजित यस कार्यक्रममार्फत युवा पुस्तामा विश्लेषण क्षमता, नेतृत्व क्षमता र भविष्यउन्मुख आर्थिक सोच विकास गर्ने उद्देश्य रहेको आयोजकले जनाएका छन्।वक्तृत्वकला प्रतियोगितामा प्रतियोगीहरूको प्रस्तुति मूल्यांकनपछि बासुदेव घिमिरे प्रथम, मुस्कान अग्रहरि द्वितीय, र राजन सोमाइ तृतीय घोषित भएका छन्। विजयी प्रतियोगीहरूलाई पदक तथा ट्रफी प्रदान गरिएको थियो भने सबै २२ जना सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो।
