बुटवल,
नमस्ते नेपालको जन्मदिन विशेष अभियान अन्तर्गत संस्थाका केन्द्रीय कोषाध्यक्ष , समाजसेवी तथा युवा उद्यमी श्री रमेश लम्सालको जन्मदिनको अवसरमा सामाजिक सेवा मूलक कार्यक्रम सम्पन्न गरिएको छ।लम्सालले आफूले कक्षा ७ सम्म अध्ययन गरेको प्रगति माध्यमिक विद्यालय, बुटवल–११, प्रगतिनगरमा वृक्षारोपण, छात्रवृत्ति वितरण र डस्टबिन वितरण गर्दै आफ्नो जन्मदिनलाई समाजसेवामूलक कार्यद्वारा अर्थपूर्ण बनाउनुभएको हो।कार्यक्रमका क्रममा विद्यालय परिसरमा वृक्षारोपण गर्दै वातावरण संरक्षणको सन्देश दिनुका साथै उत्कृष्ट तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको थियो। साथै विद्यालयको सरसफाइ र वातावरणीय सुधारका लागि डस्टबिनहरू पनि प्रदान गरिएको हो।
सामाजिक उत्तरदायित्वप्रति उच्च उदाहरण प्रस्तुत गर्दै लम्सालले शारीरिक रूपमा अशक्त तथा अनाथ बालक समीर रानाको सम्पूर्ण पढाइ–लेखाइको जिम्मेवारी लिने घोषणा गर्नुभएको छ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उपस्थितहरूले लम्सालको सामाजिक प्रतिबद्धताको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रेरणा जगाउने विश्वास व्यक्त गरे।लम्सालले आगामी दिनहरूमा पनि नामस्ते नेपालका माध्यमबाट शिक्षा, सरसफाइ र मानवसेवामा निरन्तर योगदान पुर्याउने प्रतिवद्धता जनाउनुभएको छ।
