बुटवल, २०८२ कार्तिक
लायन्स क्लब अफ बुटवल क्षितिजले नेपाल अपांग आश्रम, बुटवल–११, देविनगर, रूपन्देहीमा दन्त स्वास्थ्य शिविर तथा भोजन वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष एमजेएफ लायन डा. श्री प्रसाद खरेलले गर्नुभएको थियो भने डिष्ट्रिक्ट 325 P का 1st VDG एमजेएफ लायन सन्दीप कसौधन प्रमुख अतिथि रहनुभएको थियो। सो अवसरमा Area 3 का Area Chief लायन कृष्ण प्रसाद पाण्डे सहित विभिन्न लायन्स तथा गैर–लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमअन्तर्गत दन्त स्वास्थ्य परीक्षण तथा दन्त सामग्री (टुथपेस्ट र टुथब्रस) वितरण कार्य क्लबका अध्यक्ष एमजेएफ लायन डा. श्री प्रसाद खरेलको सौजन्यमा सम्पन्न गरिएको थियो। त्यस्तै, भोजन वितरण कार्यक्रम सामाजिक व्यक्तित्व श्री मोहन खरेल (श्री भीमलाल खरेल र श्रीमती कमला खरेलका छोरा)को जन्मदिनको अवसरमा उहाँकै व्यक्तिगत पहलमा आयोजना गरिएको थियो।सो अवसरमा प्रमुख अतिथि एमजेएफ लायन सन्दीप कसौधनले नेपाल अपांग आश्रमलाई चारवटा सिलिङ फ्यान हस्तान्तरण गर्नुभएको थियो, जसले आश्रमका बासिन्दाहरूलाई अत्यन्तै सहयोग पुर्याउने बताइएको छ।
कार्यक्रममा करिब ५० जना अपांग व्यक्तिहरूलाई निःशुल्क दन्त स्वास्थ्य सेवा र पौष्टिक भोजन प्रदान गरिएको थियो। कार्यक्रम संयोजकको जिम्मेवारी लायन बाबुराम भण्डारीले निर्वाह गर्नुभएको थियो भने सञ्चालन तेस्रो उपाध्यक्ष लायन प्रदीप कुमार गुप्ताले गर्नुभएको थियो। मानवसेवा र सामाजिक उत्तरदायित्वप्रति लायन्स क्लब अफ बुटवल क्षितिजको प्रतिबद्धता झल्काउने यस कार्यक्रमले सहभागीहरूमा हर्ष, उत्साह र प्रेरणा जगाएको थियो।
