बुटवल,
लायन्स क्लब अफ बुटवल क्षितिजले बुटवल उपमहानगरपालिका–११, मझुवास्थित सुर्योदय आधारभूत विद्यालयमा स्कूल सपोर्ट एण्डह्याप्पी टिथ क्लिनिक कार्यक्रम सम्पन्न गरेको छ।विद्यालय सहयोगका बहुआयामिक गतिविधिहरूअन्तर्गत क्लबले विद्यार्थीहरूलाई लक्षित गरी दन्त स्वास्थ्यसम्बन्धी प्रशिक्षण, निःशुल्क दन्त परीक्षण, दन्त सरसफाइ सामग्री वितरण, विद्यालयलाई आवश्यक विद्युतिय सामग्री हस्तान्तरण तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई विद्यालय झोला वितरणजस्ता कार्यक्रमहरू संचालन गरेको हो।कार्यक्रम क्लबका अध्यक्ष लायन डा. श्रीप्रसाद खरेलको अध्यक्षता र कोषाध्यक्ष लायन सुमन पाण्डेको संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, पदाधिकारीहरू, सदस्यहरू साथै लियो क्लब अफ बुटवल क्षितिजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ पि’का डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन बलराम भट्टराई रहनु भएको थियो। प्रमुख अतिथि भट्टराई, क्लब अध्यक्ष डा. खरेल, पूर्व अध्यक्षहरू र अन्य विशिष्ट अतिथिहरूले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक श्रीमती शोभा अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री हरी कँडेललाई सामग्री हस्तान्तरण गर्नुभएको थियो।दन्त स्वास्थ्य शिविरमा करिब १६० जना विद्यार्थीहरूको दन्त परीक्षण गरिएको र ४० जना विद्यार्थीहरूको दाँत निकालिएको क्लबले जानकारी दिएको छ। साथै सम्पूर्ण विद्यार्थीलाई दाँत माझ्ने ब्रस र टुथपेस्ट वितरण गरिएको थियो। यसैगरी विद्यालयलाई आवश्यक विद्युतिय सामग्री अन्तर्गत स्ट्याण्ड फ्यान र मिक्सर ग्राइन्डर प्रदान गरिएको थियो।त्यसैगरी, लायन्स क्लब अफ बुटवल क्षितिजका पूर्व अध्यक्ष लायन नारायण थापा र ममता थापाका सुपुत्र मनन थापाको ११ औं जन्मोत्सवको अवसरमा जेहेन्दार तथा आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरूलाई लक्षित गरी विद्यालय झोला वितरण गरिएको थियो।दन्त सामग्री उपलब्ध गराउने श्रीषा डेन्टल क्लिनिक, दन्त शिक्षा प्रदान गर्ने डा. रक्षा कार्की र सृजना गलामी तथा अन्य सहयोगी पक्षप्रति क्लब अध्यक्ष खरेलले आभार व्यक्त गर्नुभयो। उहाँले यस्ता सामाजिक सेवामुखी कार्यले आफूलाई लायन्स सेवायात्रामा अझ अघि बढ्न प्रेरणा र उत्साह प्रदान गर्ने बताउनुभयो।कार्यक्रममा प्रथम उपाध्यक्ष लायन उदयबहादुर खत्रीले स्वागत मन्तव्य दिनुभएको थियो भने सञ्चालन क्लब सचिव पवन बस्यालले गर्नुभएको थियो।
