बुटवल, साउन २९
“सेवामा नै सच्चा उत्सव” भन्ने भावलाई आत्मसात गर्दै रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले बुटवल सुख्खानगरस्थित मानव सेवा आश्रममा प्रेम, सम्मान र आत्मीयतासहित भोजन वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यो विशेष कार्यक्रम हाल अस्ट्रेलियामा बसोबास गर्ने श्रीमती वर्षा दर्लामीको जन्मदिनको अवसरमा, उहाका जीवनसाथी श्री योगेश बन्जाडेको सद्भावना र सहयोगमा आयोजना गरिएको थियो, जसले कार्यक्रमलाई अझै विशेष र प्रेरणादायी बनायो। क्लबले यस अवसरमा समाजसेवामा देखाउनुभएको योगदानका लागि दुवैलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रोटरी क्लब अफ बुटवल डाउन टाउनका निर्वाचित अध्यक्ष रो. धर्मदत्त ज्ञवाली हुनुहुन्थ्यो भने विशेष अतिथिको रूपमा जोन १८ का जेड.आर.आर डा. आविष्कार पराजुली रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका पूर्व अध्यक्ष एवं मेन्टर रामप्रसाद बेल्बासे हुनुहुन्थ्यो । कार्यक्रममा मानव सेवा आश्रम बुटवलको तर्फबाट रेनु थापाले आश्रमको बारेमा आवश्यक जानकारी दिदै क्लबले गरेको मानवीय कार्यको लागि धन्यवाद दिनुभयो । रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष रो. आविष्कार खनालको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव रो. केशव पौडेलले गर्नुभएको थियो। । कार्यक्रममा बोर्ड सदस्यहरू, रो. तिलक अधिकारी, रो.गोपाल गोदार, रो. देवी प्रसाद भण्डारी, रो. धीरज थापा क्लबका सदस्यहरु रो.विजय गिरी, रो. इन्जिनियर रमेश आचार्य, रो. इन्जिनियर रोशन खरेल, रो. सुरेश पोख्रेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत आश्रममा रहनु हुने वृद्धवृद्धा तथा अन्य आश्रितहरूलाई स्वादिष्ट भोजन खुवाएर सेवा र सद्भावको सन्देश फैलाइएको थियो। उपस्थित अतिथिहरूले व्यक्तिगत अवसरलाई समाजसेवामा रूपान्तरण गर्नु अत्यन्त प्रेरणादायी भएको उल्लेख गर्दै, यस किसिमका सामाजिक कार्यक्रमहरू निरन्तर हुने अपेक्षा व्यक्त गरे। रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउनले यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गर्दै, भविष्यमा पनि यस्ता मानवतापूर्ण र प्रेरणादायी गतिविधिहरू निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
