भर्खरै सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजामा सैनामैना नमुना माध्यमिक विद्यालय, रानीबगैचाले नगरस्तरमै उत्कृष्ट सफलता हात पार्दै एक ऐतिहासिक कीर्तिमान कायम गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थी सनम थापा ३.८७ GPA ल्याएर सैनामैना नगरपालिकामै प्रथम स्थान हासिल गर्न सफल भएका छन्।
विद्यालयका प्रध्यानाध्यापक नेत्रलाल पुरीका अनुसार, सनम थापा विद्यालयको मात्र नभई नगरकै गौरव बनेका हुन्। उनले शैक्षिक उत्कृष्टताका साथै अतिरिक्त क्रियाकलापहरूमा पनि उत्तिकै सक्रियता देखाउँदै आएका छन्।
🔹 SEE मा पनि देखिएको थियो उत्कृष्टता
यसअघि कक्षा १० को एसईई परीक्षामा पनि यही विद्यालयका ४ जना विद्यार्थीले ४.० GPA ल्याएर सबल शैक्षिक आधार प्रस्तुत गरिसकेका थिए।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल बस्यालले समग्र विद्यालय परिवार—शिक्षक, अभिभावक र विद्यार्थीहरूको समर्पणले यस्तो परिणाम सम्भव भएको बताए। साथै, भविष्यमा अझ प्रभावशाली शैक्षिक वातावरण तयार पार्न प्रतिबद्ध रहेको जनाउँदै सबैलाई आभार व्यक्त गर्नुभयो।
हाल अन्य विद्यार्थीहरूको नतिजा संकलन कार्य भइरहेको छ। प्रारम्भिक विवरणअनुसार, यस विद्यालयबाट उच्च GPA ल्याउने विद्यार्थीहरूको संख्या विगतका वर्षहरू भन्दा धेरै रहेको र समग्र सफलता दर पनि उच्च देखिएको छ।
सैनामैना नमुना माविको यस सफलता ले विद्यालयलाई मात्र होइन, सम्पूर्ण नगरपालिकालाई शैक्षिक क्षेत्रतर्फ नयाँ प्रेरणा दिएको छ। यस्तो उपलब्धिले सैनामैनालाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने दिशामा थप बल पुग्ने विश्वास लिइएको छ।
