अर्जुन कुवर
काठमाडौ
काठमाडौँ महानगरपालिकाले डेङ्गी तथा हैजा रोग जस्ता महामारीजन्य रोगहरूको रोकथाम र नियन्त्रणका लागि ३२ वटै वडाहरूमा व्यापक अभियान सञ्चालन गर्ने तयारी गरेको छ । जसका लागि महानगरपालिका बहु क्षेत्रीय समन्वय र सामुदायिक सहभागितामा आधारित कार्य योजना तयार गरेको स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत लामखुट्टेको वासस्थान खाेजपड्ताल गरी लामखुट्टेकाे लार्भा नष्ट गर्न विशेष जोड दिइनेछ। त्यसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, खुला स्थानमा राखिएका पानी जम्न सक्ने भाँडा र टायर हटाउने, पार्कहरूको सरसफाइ गर्ने योजना छ। “पानी जम्ने ठाउँ र झाडीहरूमा लामखुट्टेको वासस्थान बन्न सक्छ। यस्ता ठाउँ हटाउन वातावरण व्यवस्थापन विभागसँग समन्वय भइरहेको छ,” केसीले बताउनु भयो ।
