काठमाडौ-नेपालमा पहिलो पटक गरिएको अध्ययनले ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता देखाएको छ।
अध्ययनले बालविवाह, अस्वस्थ खानपान, मादक पदार्थ सेवन र जीवनशैलीजन्य रोगलाई मुख्य कारण जनाएको छ।
सर्वेक्षणले यौन स्वास्थ्य शिक्षा, उपचार र मनोपरामर्शको आवश्यकतालाई जोड दिएको छ।
२ असार, काठमाडौं । ७० प्रतिशतभन्दा बढी नेपालीमा यौन दुर्बलता रहेको पाइएको छ । नेपालमा पहिलो पटक गरिएको यौन दुर्बलतासम्बन्धी राष्ट्रिय अध्ययनले ३० वर्षभन्दा माथिका ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्बलता रहेको देखाएको छ ।
स्थानीय एकीकृत विकास समाज नेपाल (सोलिड नेपाल) ले स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा अध्ययन गरेको थियो ।

सातवटै प्रदेश र तीनवटै भौगोलिक क्षेत्रका ३४ जिल्लाका ३ हजार ३८२ जना विवाहित दम्पतीलाई समेटेर अध्ययन गरिएको अनुसन्धानकर्ता डा. खेम कार्कीले बताए ।
अध्ययनअनुसार यौन दुर्बलता भएका ७२.५ प्रतिशत पुरुषमध्ये ५ प्रतिशतमा गम्भीर दुर्बलता र ३२ प्रतिशतमा सामान्य प्रकारको दुर्बलता रहेको छ । दुर्बलता भएकामध्ये ८४ प्रतिशत पुरुषले यौन सन्तुष्टि प्राप्त गर्न नसकेको दाबी गरिएको छ ।
९२ प्रतिशत महिला र पुरुष दुवैले यौन चाहना नै नहुने गुनासो गरेका छन्, जसले उनीहरूको जीवनमा तनाव र स्वास्थ्य समस्या रहेको संकेत गरेको डा. कार्की बताउँछन् ।
यौन दुर्बलता भएका महिलामा ९४ प्रतिशतमा यौन उत्तेजना नै नहुने समस्या छ । ८६ प्रतिशत महिलामा योनी सुख्खा हुने र ६६ प्रतिशतले यौन सम्पर्कमा पीडा महसुस भएको बताएका छन् ।
डा. कार्कीका अनुसार उक्त अध्ययन असोज २०८१ सुरु गरेर पुसमा सकिएको थियो । त्यसपछि ६ महिना उक्त अध्ययनको तथ्यांक विश्लेषण गरिएको थियो ।
‘भौतिक रूपमा नै व्यक्तिलाई भेटेर प्रश्नावलीमार्फत अध्ययन गरिएको थियो,’ डा. कार्की भन्छन्, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै अध्ययन गरेका थियौं ।’ उक्त अध्ययनका लागि १६ जना अनुसन्धानकर्ता खटिएका थिए ।
डा. कार्कीका अनुसार यौन दुर्बलताको समस्या विश्वभर नै बढिरहेको छ । अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार विश्वमा औसत महिलामा ४९ प्रतिशत र पुरुषमा ४३ प्रतिशत यौन दुर्बलता रहेको छ । एसियाली देशहरूमा यो दर झन् उच्च देखिएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखाका प्रमुख समिला दाहालले अध्ययनले औंल्याएको विषयमा नीतिगत रूपमा काम गर्नुपर्ने बताइन् ।
‘दैनिक कामकाज, मानसिक तनावले यौनमा सन्तुष्टि हुन नसकेको देखाएको छ । जसले गर्दा घरपरिवारमा समस्या भएको उजागर गरेको छ,’ दाहालले भनिन् ।
के हो यौन दुर्बलता ?
यौन दुर्बलता भन्नाले यौन जीवनमा आउने विभिन्न समस्यालाई बुझिन्छ । यसमा यौन इच्छाको कमी, यौन उत्तेजना कम हुने, चरम आनन्दको अवस्थामा नपुग्ने, यौन सम्पर्कमा पीडा हुने र यौन सन्तुष्टि अनुभव गर्न नसक्ने अवस्था पर्दछ ।
यो व्यक्तिगत समस्या मात्र नभएर सामाजिक प्रभाव पार्ने गम्भीर विषय हो । यसका कारण दम्पतीबीचको सम्बन्ध बिग्रने, घरेलु हिंसा बढ्ने र मानसिक तनाव उत्पन्न हुने गर्छ ।
स्त्रीरोग विशेषज्ञका अनुसार यौन स्वास्थ्य गुणस्तरीय जीवनयापनको महत्वपूर्ण अंग हो ।
डा. कार्कीका अनुसार यौन दुर्बलताको समस्या विश्वभर नै बढिरहेको छ । अन्तर्राष्ट्रिय तथ्याङ्कअनुसार विश्वमा औसत महिलामा ४९ प्रतिशत र पुरुषमा ४३ प्रतिशत यौन दुर्बलता रहेको छ । एसियाली देशहरूमा यो दर झन् उच्च देखिएको छ ।
सन् २०११ को अनुसन्धानअनुसार मलेसियाका पुरुषमा २७ देखि ६९ प्रतिशतसम्म, सिंगापुरमा ५१ देखि ७३ प्रतिशतसम्म र हङकङमा ६४ प्रतिशतसम्म यौन दुर्बलता पाइएको थियो ।
नेपालको अवस्था यी देशभन्दा पनि गम्भीर देखिएको छ ।
मधेश र कर्णाली प्रदेशमा सबैभन्दा बढी
अध्ययनले यौन सम्पर्क गरे पनि प्रत्येक ४ जना पुरुषमध्ये ३ जना र प्रत्येक ५ जना महिलामध्ये ३ जनाले यौन सन्तुष्टि प्राप्त गर्न नसकेको दाबी गरेको छ । दम्पतीबीचको सम्बन्धमा चिसोपन ल्याउने र घरेलु हिंसाको कारण बन्ने गरेको छ ।
अध्ययनले प्रादेशिक स्तरमा उल्लेखनीय भिन्नता देखाएको छ । सबैभन्दा धेरै यौन दुर्बलता मधेश प्रदेशमा (७३ प्रतिशत) र त्यसपछि कर्णाली प्रदेशमा (७१ प्रतिशत) पाइएको छ ।
स्त्री रोग विशेषज्ञका अनुसार कम उमेरमा विवाह हुँदा शारीरिक र मानसिक परिपक्वताको अभावले यौन स्वास्थ्यमा दीर्घकालीन समस्या सिर्जना गर्छ ।
सर्वेक्षणमा समावेश भएकामध्ये यौन दुर्बलता भएका व्यक्तिमा व्यस्त जीवनशैली, मानसिक तनाव, श्रीमान्-श्रीमती छुट्टिएर बस्नुपर्ने अवस्था, एकापसको द्वन्द्व, पारिवारिक कलह, काम र आरामको असन्तुलन रहेको सर्वेक्षणले देखाएको छ । त्यसैगरी शारीरिक कारणमा यौन अंगमा हुने संक्रमण, श्रीमान् र वा श्रीमतीमा भएको स्वास्थ्य समस्या प्रमुख रहेको डा. कार्कीले बताए ।
‘यौन दुर्बलताको प्रमुख कारण मानसिक तनाव हो । जुन गरिबी र अभावसँग जोडिएको अध्ययनले देखाएको छ,’ डा. कार्की भन्छन्, ‘यौन दुर्बलता र मनोवैज्ञानिक कारणहरूबीच चक्रीय सम्बन्ध रहेको, जहाँ एकले अर्कोलाई असर पार्ने र समस्यालाई जटिल बनाएको देखियो ।’
‘कम उमेरको विवाह र गरिब जीवनशैलीको चक्रब्यूहमा नेपाली यौन स्वास्थ्य’
अध्ययनले बालविवाह, अस्वस्थ खानपान, मादक पदार्थ सेवन र जीवनशैलीजन्य रोगलाई यौन दुर्बलताका प्रमुख कारण देखाएको छ ।
अध्ययनले १८ वर्ष वा त्यसभन्दा कम उमेरमा विवाह गर्नेहरूमा यौन दुर्बलताको दर ६८ प्रतिशत, २५ वर्ष पूरा भएपछि विवाह ६१ प्रतिशत यौनदुर्बलता भएको दाबी गरेको छ ।
डा. कार्की भन्छन्, ‘
