बुटवल ,वैशाख । रोट्रयाक्ट डिस्ट्रिक्ट एरिया ५ अन्तर्गतका जोन १७, १८ र १९ का सम्पूर्ण रोट्रयाक्टरहरू बुटवलको योगिकुटी चोकमा भेला भई दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन्। कश्मिरको पहलगाम क्षेत्रमा भएको अमानवीय हिंसात्मक आक्रमणमा परि रोट्रयाक्ट परिवारका सदस्य रो. सुदीप न्यौपानेको दु:खद निधन भएको स्मरणमा सो कार्यक्रम आयोजना गरिएको हो। रोट्रयाक्ट क्लब अफ यति हेल्थमा २०२१/२२ मा सदस्यता लिएर रोटरि वर्ष २३/२४ मा अध्यक्ष पदमा रहेका न्यौपानेले क्लबमा उल्लेखनीय योगदान पुर्याएका थिए। उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरिएको छ भने कार्यक्रममा सहभागीहरूले प्लेकार्ड सहित उक्त निन्दनीय घटनाको विरोध पनि जनाएका थिए।
कार्यक्रममा बि.स. २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृतिमा पनि दीप प्रज्वलन गरि भूकम्प पीडितप्रति समेत श्रद्धाञ्जली अर्पण गरिएको थियो। दिप प्रज्वलन कार्यक्रममा आतंककारी हमलाको घोर निन्दा समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन रोट्रयाक्ट डिस्ट्रिक्ट जोन १९ का जेडएस लक्ष्मण कुर्मि द्वारा गरिएको थियो भने जोन १८ का जेडआरआर दिवश खनाल, जोन १९ का जेडआरआर विदुर ज्ञवाली, प्रहरी बिट योगिकुटिका प्रहरी नायव निरीक्षक केशव श्रेष्ठ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष सुदीप पौडेल, तथा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष डिल्लीराज ढकालले श्रद्धाञ्जली अर्पण गर्नुका साथै उक्त अमानवीय कार्यको घोर निन्दा गर्नुभएको थियो।
उक्त कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्टका डिस्ट्रिक्ट अफिसरहरु ,एरिया ५ अन्तर्गतका विभिन्न क्लबका अध्यक्ष ,पदाधिकारी एवंरोट्रयाक्ट सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
