पुरुषमा पनि देखियो स्तन क्यान्सर

लीलामणि पोखरेल

काठमाडौ- २०७९ सालमा नुवाकोटका धनबहादुर केसीको दायाँ छातीमा एक्कासि गाँठो महसुस भयो । बिस्तारै दुखाइ पनि महसुस हुन थालेपछि उनी परीक्षणका लागि त्रिशूली अस्पताल गए चिकित्सकलाई आफ्नो समस्या सुनाए । चिकित्सकले उनलाई भिडियो एक्स-रे गर्न सुझाए । भिडियो एक्स-रे गरेर रिपोर्ट देखाएपछि चिकित्सकले भने- ‘तपाईं एक पटक काठमाडौं गएर फेरि परीक्षण गर्नुस् र उतै उपचार गर्नुस् ।’

त्यसको केही दिनपछि उनी पाटन अस्पताल पुगे र चिकित्सकलाई भेटे । पाटन अस्पतालका चिकित्सकले उनको छातीको मासुको जाँच गर्नुपर्छ भने । जाँचपछि थाहा भयो उनलाई पहिलो चरणको स्तन क्यान्सर रहेछ । क्यान्सर पत्ता लागेपछि एक छिन त उनी आत्तिए । तर चिकित्सकले उपचारपछि निको हुने बताए । अहिले उनको सफल उपचार भइसकेको छ ।

सन् २०२२ पछि महिलामा देखा पर्ने क्यान्सरमध्ये पहिलो नम्बरमा स्तन क्यान्सर पर्छ । ग्लोबोक्यानले सन् २०२२ मा प्रकाशित गरेको तथ्यांकअनुसार लगभग २ हजार २५५ जनामा स्तन क्यान्सर देखिएको थियो ।

स्तन क्यान्सर महिलामा मात्र हैन पुरुषमा पनि देखा पर्छ । एक हजार जना स्तन क्यान्सरका बिरामीमध्ये तीनदेखि चार जना अर्थात् एक प्रतिशतभन्दा कम पुरुषमा देखिन्छ । पुरुषमा स्तन क्यान्सरको समस्या देखिनुका मुख्य कारण यही हो भनेर पत्ता लागेको छैन तर जोखिमका कारण भने धेरै छन् ।

स्तनमा भएका कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । स्तन क्यान्सर प्रायः महिलालाई लाग्ने गरेको देखिए पनि पछिल्लो समय पुरुष पनि यस रोगबाट प्रभावित हुने क्रम बढेको क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही बताउँछन् ।

‘बढ्दो अवस्थामा रहेको स्तन क्यान्सर नियन्त्रणका लागि स्वयं व्यक्तिलाई प्रशिक्षित गर्नुपर्छ र जनचेतना जगाउनुपर्छ,’ उनी भन्छन् ।

पुरुषमा स्तन क्यान्सर देखा पर्ने कारण

परिवारमा हजुरआमा, आमा, दिदी कसैललाई स्तन क्यान्सर र डिम्बाशयको क्यान्सर भएको थियो । हजुरबुबा, बुबालाई प्रोस्टेट क्यान्सर, आमाशयको क्यान्सर भएको थियो भने त्यो परिवारका अन्य पुरुषमा स्तन क्यान्सर हुने सम्भावना हुन्छ । यसरी रगतको नाता भएको परिवारको सन्तानमा वंशाणुगत कारणले पनि स्तन क्यान्सर हुनसक्ने डा. शाही बताउँछन् ।

खराब जीवनशैली र खानपानका कारण मोटोपन अहिले धेरैको समस्या बनेको छ । मोटोपन धेरै रोगको कारण पनि बनिरहेको छ । यसकै कारण पुरुषमा स्तन क्यान्सरको समेत सम्भावना रहन्छ । मोटोपनले शरीरमा फ्याट सेल्सको सङ्ख्या बढ्छ र पछि गएर त्यो ट्युमरको कारण बन्न सक्छ । यसबाहेक फ्याट सेल्सले शरीरमा एस्ट्रोजनको मात्रा बढाउँछ, जुन पुरुषमा हुने स्तन क्यान्सरको एउटा कारण भएको उनले बताए ।

धेरै मात्रामा धूम्रपान अझै धेरै मदिरा सेवन गर्ने बानी भएका पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना अत्यधिक हुने शाही बताउँछन् ।

रातिको समयमा कलकारखानामा काम गर्ने र विकिरण हुने क्षेत्रमा काम गर्ने पुरुषमा पनि स्तन क्यान्सरको जोखिम हुन्छ । साथै हर्मोनल थेरापी लिने पुरुषमा पनि यसको जोखिम हुने डा. शाही बताउँछन् ।

लक्षण

स्तनको तलमाथि दायाँबायाँ सानो गिर्खा भेटिने, छातीमा असहज महसुस हुने, निप्पल भित्र छिर्ने, स्तनको आकारमा परिवर्तन आउने, स्तनमा खाल्डो पर्ने, कुनै सानो घाउ खटिरा आयो भने निको नहुने, स्तन वरपरको मांसपेशी दुख्ने, निप्पलबाट सेतो पानी बग्ने वा रगत बग्ने, तौल घट्ने आदि स्तन क्यान्सरका लक्षणहरू भएको क्यान्सर विशेषज्ञ डा. शाही बताउँछन् ।

जोखिम कम गर्ने उपाय

जीवनशैली र खानपानमा सुधार गरेर क्यान्सरको जोखिमबाट बच्न सकिन्छ । डा. शाहीका अनुसार स्तन क्यान्सरको जोखिम कम गर्न यी कुरामा ध्यान दिनुपर्छ ।

– क्यान्सर गराउन सक्ने सम्भावित कुरा जस्तै, धुम्रपान तथा मद्यपान नगर्ने ।

– शारीरिक रुपमा सक्रिय रहने । नियमित व्यायाम, योग, प्राणायाम गर्ने ।

– सकारात्मक र ऊर्जावान् रहने ।

– प्रशोधित खानेकुरा, जंकफुड नखाने ।

– तनाव कम लिने, पर्याप्त मात्रामा आराम गर्ने ।

– शरीरमा अनावश्यक गाठागुँठी आएको छ, रङ परिवर्तन भएको छ भने तुरुन्त परीक्षण गराउने ।

– वंशाणुगत क्यान्सर परिवारमा छ भने जोखिम उच्च हुन्छ । त्यसैले समयमै क्यान्सर छ कि छैन भनेर वर्षमा एक पटक जाँच गराउनुपर्छ । @ok

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै