काठमाडौं ,
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा ‘कपडा बैंक’ (क्लोथ ड्रप बक्स) को शुभारम्भ भएको छ । क्लोथ एन्ड फुड बैंक नेपालको आयोजना र कागेश्वरी मनोहरा नगरपालिकाको सहकार्यमा मंगलबार ‘कपडा बैंक’को शुभारम्भ गरिएको हो ।
क्लोथ ड्रप बक्स सुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्र कार्कीले देशभरबाट प्रयोगमा नआएका कपडा संकलन गरेर पुनःचक्रण गरी आवश्यक पर्नेहरु जो कोहिका लागि वितरणबाट गर्ने उद्देश्यका साथ क्लोथ एन्ड फुड बैंक नेपालले सुरु गरेको पवित्र कार्यलाई आफ्नो नगरपालिका भित्र पनि शुभारम्भ गरिएको बताए । आवश्यक परेका जो कोहीका लागि ‘रिसाइकल’ गरीएका प्रयोग गर्न मिल्ने कपडा उपलब्ध गराउनका लागि यो कार्यको थालनी गरेको बताए ।यस्तो अभियान युरोप र एशियाली मुलुकहरुमा निकै प्रभावकारी रहदै आएको र नेपालमा पनि यो अभियान सुरु सुरुवात भएको र कागेश्वरी मनोहरा नगरपालिकामा पनि प्रभावकारी हुने आशा रहेको र आगामी एक वर्ष भित्र नगरपालिका भित्रका सबै वडामा यो अभियान विस्तार गर्ने सोच रहेको बताए ।
नेपाली चलचित्र जगतका महानायक राजेश हमालले समाजमा आर्थिक रुपमा सम्पन्न नभएका र कपडा आवश्यक भएका मानिसलाई यो अभियानले निकै सहयोग पुग्ने बताए नेपालमा मात्र होइन विश्वभर यस्ता प्रयोगहरु हुँदै आएको बताउदै आवश्यक पर्नेहरुले क्लोथ बैंक मार्फत कपडा लैजान सक्ने र कपडा भएकाले क्लोथ ड्रप बक्समा कपडा संकलन गर्न सक्ने उनले बताए । देशमा विभिन्न किसिमका अभियानहरु संचालनमा छन्, तर यो यस्तो पवित्र अभियान अनि मानवीय कार्य रहेको जसले कसैको शरिर नाङ्गो रहन नदिने भएकोले यो मानवीय कार्यमा सुरुवात देखि नै लागेको हमालको भनाई थियो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्पराज ढकालले क्लोथ एन्ड फुड बैंकले गरेको कार्यको प्रशंसा गर्दै नगरपालिकाबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राममणी पुडासैनी र वडा नम्बर ८ का वडा अध्यक्ष हरिभक्त पुडासैनीले प्रयोग नभएका कपडालाई रिसाइकलिङ गरी गुणस्तरीय कपडा आवश्यक पर्नेहरुलाइ वितरण गर्ने कार्य निकै फरक अनि प्रभावकारि हुने बताए ।
क्लोथ एन्ड फुड बैंकका प्रमुख कमल जिसीले पुरानो कपडा पुनः प्रयोग, आवश्यक पर्ने हामी सबैका लागि भन्ने सन्देश प्रवाह गर्न उक्त कार्यक्रम गरिएको बताए । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, कर्मचारी तथा कागेश्वरी मनोहरा नगरपालिकाका बासिन्दाको सहभागिता थियो ।

क्लोथ एण्ड फुड बैंक नेपालका सल्लाहकार एवं टुना टेक्नोलोजिका सिइयो राजिव गौतमले स्वागत मन्तव्य राख्दै कपडा बैंकको बारेमा जानकारी दिदै संकलन भएको कपडा प्रशोधन गरी प्रयोग गर्न योग्य बनाएर मात्र वितरण गरिने भएकाले धेरै लुगा हुनेले जम्मा गर्न र नहुनेले ढुक्क भएर प्रयोग गर्न अनुरोध गर्नुभयो । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाई कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानिय सरकार यो अभियानमा जोडिएका छ्न ।
