
रबि खनाल
काठमाण्डाै
नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्यको हल्ला चलिरहेको बेला आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
हिजो लामै समय छलफल गरेका प्रचण्ड र ओलीबीच आज पनि झन्डै तीन घण्टा एक्लाएक्लै छलफल भएको छ । छलफलमा अहिलेको सत्ता समीकरण कसरी बलियो बनाउने, शान्ति प्रक्रिया कसरी टुङ्गोमा पुर्याउने, बजेटको प्रभावकारी कार्यान्वयन गरेर आर्थिक अवस्थामा कसरी सुधार ल्याउने लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
एमाले र कांग्रेसबीच नयाँ समीकरण बन्न लागेको हल्लालाई प्रधानमन्त्रीको सचिवालयले गलत भएको दाबी गरेको छ । गएको शनिवार कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा साढे दुई घण्टा लामो छलफलपछि माओवादी झस्किएको छ ।
कांग्रेसका नेताहरूले एमालेसँग चाँडै समीकरणबारे सहमति हुने बताउँदै आएका छन् । उज्यालोसँगको कुराकानीमा कांग्रेसका नेता मीनेन्द्र रिजालले अब एमाले र कांग्रेस मिलेर अघि बढ्ने, संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार्ने र साना दलको कारण सत्ता अस्थिर हुने अहिलेको अवस्था बदल्ने विषयमा सहमति हुन लागेको बताउनुभएको छ । लामो समय प्रयास गर्दा पनि सफल नभएको तर यसपटक कांग्रेस र एमालेबीचको सहकार्य सफल हुने रिजालको दाबी छ ।
तर एमाले र माओवादीका नेताहरूले भने दुई जना नेताहरू बीचको छलफललाई बढाइचढाइ गर्न उचित नहुने तर्क गरेका छन् । आजको संसद् बैठकमा माओवादीका सांसद माधव सापकोटाले नेताहरू भेटेकै विषयलाई लिएर सत्ता समीकरण फेरिने हल्लाको पछि लाग्न नहुने बताउनु भएको छ ।
“उज्यालो ”
