बुटवल ,
एक्स्ट्राटेक ओवल प्रालिको आयोजना र रोटर्याक्ट क्लब अफ बुटवल डाउन टाउनको सहकार्यमा तिलोत्तमा–१७, रुपन्देहीस्थित एक्स्ट्राटेक ओवल क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल ठूला डिजिटल स्कोर बोर्डमार्फत प्रत्यक्ष अवलोकन गर्न व्यवस्था मिलाइने भएको छ। दर्शकहरूले मैदानमै बसेर लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको रोमाञ्चक फाइनल भिडन्त हेर्ने अवसर पाउनेछन्। सामूहिक रूपमा फाइनलको माहोल अनुभव गराउन यो कार्यक्रम आयोजना गरिएको एक्स्ट्राटेक ओवलले जनाएको छ। कार्यक्रम आगामी २०८१ साल मसिर २७ गते शनिबार दिउँसो ३:३० बजे एक्स्ट्राटेक ओवल क्रिकेट मैदानमै हुने जानकारी दिइएको छ।
