बुटवल। रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही, रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही, रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्स, रोटर्याक्ट क्लब अफ बुटवल साउथ, रोटर्याक्ट क्लब अफ बुटवल डाउनटाउन तथा रोटर्याक्ट क्लब अफ तिनाउ सिटीको संयुक्त आयोजनामा मैत्रीपूर्ण इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।रोटर्याक्टरहरूबीच आपसी मित्रता, सहकार्य, खेल भावना तथा संगठनात्मक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको संयोजन रोटर्याक्टर सीए मोहन खत्री तथा सह–संयोजन रोटर्याक्टर रबिना प्रधानले गर्नुभएको थियो। प्रतियोगिताको संयुक्त अध्यक्षता रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटर्याक्टर श्रीधर केसी तथा रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष रोटर्याक्टर अधिश ढकालले गर्नुभएको थियो।प्रतियोगितामा आयोजक क्लबहरूका आठ टोलीको सहभागिता रहेको थियो। जसअन्तर्गत रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका दुई टोली, रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका दुई टोली तथा रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही, रोटर्याक्ट क्लब अफ बुटवल साउथ, रोटर्याक्ट क्लब अफ बुटवल डाउनटाउन र रोटर्याक्ट क्लब अफ तिनाउ सिटीका एक–एक टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताभर प्रतिस्पर्धात्मक खेलसँगै रोटर्याक्टरहरूबीच आपसी सद्भाव, भाइचारा तथा खेल भावना झल्किएको थियो।प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि पिडिआरआर रोटर्याक्टर विक्रम क्षेत्री रहनुभएको थियो। समारोहमा जिल्ला पदाधिकारी, विभिन्न रोटर्याक्ट क्लबका प्रतिनिधिहरू, पूर्व अध्यक्षहरू, बोर्ड सदस्यहरू तथा रोटर्याक्टरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
औपचारिक कार्यक्रमको सञ्चालन रोटर्याक्टर गौरव पाण्डे र रोटर्याक्टर सीए मोहन खत्रीले संयुक्त रूपमा गर्नुभएको थियो। सो अवसरमा रोटर्याक्टर सीए मोहन खत्रीले प्रतियोगिताको उद्देश्य, सञ्चालन प्रक्रिया तथा यसले रोटर्याक्टरहरूबीच सिर्जना गरेको सहकार्य, समन्वय र भाइचाराबारे प्रकाश पार्नुभएको थियो।अध्यक्ष रोटर्याक्टर अधिश ढकालले प्रतियोगिताको सफल आयोजनामा सहयोग पुर्याउने सम्पूर्ण क्लब, खेलाडी, स्वयंसेवक तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो। त्यसैगरी अध्यक्ष रोटर्याक्टर श्रीधर केसीले सहभागी सबै टोली, अतिथिहरू, प्रायोजक, सहयोगी संस्था तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले रोटर्याक्ट परिवारबीचको सम्बन्ध अझ सुदृढ बनाउन, नेतृत्व विकास गर्न तथा आपसी सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।प्रतियोगितामा रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको टिम ‘बी’ विजेता बनेको थियो भने रोटर्याक्ट क्लब अफ सेन्ट्रल रुपन्देही उपविजेतामा सीमित भएको थियो। विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरूले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो।आयोजकका अनुसार प्रतियोगिताले रोटर्याक्टरहरूबीच मित्रता, एकता, नेतृत्व विकास, खेलकुद संस्कृतिको प्रवर्द्धन तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास लिइएको छ।

