प्यूठान : गौमुखी गाउँपालिका— ४ का वडाध्यक्ष धनिराम सुनार यतिबेला भारतमा छन् । ल्यापटप बोकेर सेवाग्राही खोज्दै उनी भारत पुगेका हुन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग (सामाजिक सुरक्षा शाखा)ले भदौ मसान्तभित्र लाभग्राही स्वयम् उपस्थित भई सामाजिक सुरक्षा भत्ताको विवरण अध्यावधिक गर्ने भनेपछि सेवाग्राही खोज्दै जनप्रतिनिधि भारत पुगेका हुन् ।
‘विभिन्न कामको सिलसिलामा भारतमा रहेका सेवाग्राहीको सुविधाका लागि यहाँ आएको हुँ’, वडाध्यक्ष सुनारले भने, ‘अप्रेसन गरेर अस्पतालमा रहेका सेवाग्राही पालिकासम्म पुग्न नसक्ने भएपछि यहाँ आएको हुँ ।’
वडावासीका साथै उनले गौमुखी गाउँपालिका र छिमेकी गुल्मी जिल्लाका लाभग्राहीको तथ्यांकसमेत अध्यावधिक गरिरहेका छन् । भारतको अम्बेश्वर र चण्डीगढ क्षेत्रका ४० जनाको विवरण अध्यावधिक गरेको उनले बताए । प्यूठानका ग्रामीण भेगका अधिकांश स्थानीय रोजगारीका लागि भारत जाने गर्छन् । परिवारका सदस्यहरू भारतमा हुने गर्दा उनका अभिभावक भेटघाट तथा उपचारका सिलसिलामा त्यहाँ अस्थायी बसोबास गर्ने गरेका छन् । यस क्षेत्रका अधिकांश स्थानीय भारतको चण्डीगढ, लुधियाना, हरियाणा, गंगानगर, भोपाल, दिल्ली, लखनउ, चेन्नई, सिम्लालगायत क्षेत्रमा पुग्ने गर्छन् ।
यस्तै, माण्डवी गाउँपालिका— ४ मर्कावाङले दाङको घोराहीमा पुगेर सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको तथ्यांक अध्यावधिक कार्य सुरु गरेको छ । बिहीबारदेखि लाभग्राहीको विवरण अध्यावधिक गर्नुका साथै घटना दर्ता सेवा उपलब्ध गराइएको वडाध्यक्ष प्रकाश वलीले बताए । ‘रोजगारी, अध्ययनलगायत विभिन्न कामको सिलसिलामा वडावासीहरूको यहाँ बाक्लो बसोबास छ’, उनले भने, ‘विवरण उपलब्ध गराउन स्वयम् उपस्थित हुनुपर्ने भएपछि सेवाग्राहीको आर्थिक भार काम गर्न यहाँ आउनु परेको छ ।’
बसाइँ सरी गएकाहरूको विवरणसमेत वडामै भएपछि सेवाग्राही खोज्दै हिँड्नु परेको अध्यक्ष ओलीको भनाइ छ । सम्पत्ति नभएकै कारण वडावासीको बसाइँसराइ नहुँदा लाभग्राहीको विवरण वडा कार्यालयमै रहेको उनले बताए । ‘समयमै विवरण अध्यावधिक हुनुका साथै स्थानीयको आर्थिक भारमा समेत कमी आउनेछ’, उनले भने । बिहीबार र शुक्रबारसम्म विवरण अध्यावधिक गर्नुका साथै सेवाग्राहीका घटना दर्तालगायतका सेवासमेत उपलब्ध गराउने वडाध्यक्ष वलीले जनाए ।
दाङको सीमा क्षेत्रसँग जोडिएको मर्कावाङका स्थानीय व्यापार, व्यवसाय र अध्ययनका लागिसमेत दाङ जाने प्रचलन छ । बसाइँसराइसँगै अस्थायी बसोबासका लागिसमेत यस क्षेत्रका स्थानीयको पायक पर्ने क्षेत्र घोराही हो । सामाजिक सुरक्षाभत्ताअन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा प्यूठान जिल्लामा ९८ करोड ३३ लाख ४३ हजार ७ सय ९० रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्यूठानले जनाएको छ
