“विकासको प्यास, खेतको आस”
देश छ, तर दिशा छैन, गति छैन अझै,
विकासका सपना कागजमा सीमित छन् कहिँ।
शब्दले योजना बुन्छ, तर कर्ममा खडेरी,
जनताको आँखा भिज्छ, तर खेत सुक्खा भई।
धानको बिउले घाम त सहन्छ,
तर पानीको अभावले प्राण गुमाउँछ।
आकाश हेरिरहन्छ, किसानको नजर,
बादल आउँछन्, तर रसाउँदैन बगर।
देशको विकास होइन केवल सडक र भवन,
किसानको सन्तोष, खेतको हरियाली हो धन।
जहाँ बीउ हाँस्छ, त्यहाँ सपना अंकुराउँछ,
जहाँ पानी झर्छ, त्यहाँ भविष्य फुलाउँछ।
सत्ता बदलियो, अनुहार फेरिए बारम्बार,
तर पीडाको स्वर आज पनि छ निस्सार।
खेत र किसानको आवाज सुन्ने कोही छैन,
देश ठूलो भन्दै, गाउँको घाउ लुकाइन्छ यहीं।
तर आशा बाँकी छ, बल बाँकी छ हातमा,
नहरहरू बगाउने सपना छ घाममा।
जहाँ देशले किसान सम्झन्छ मनदेखि,
त्यहीँबाट विकासको यात्रा शुरु हुन्छ दृढतासँगै।
सन्देश शर्मा
राप्ती गाउँपालिका
दाङ
