बुटवल, श्रावण २४
सूचना प्रविधिको क्षेत्रमा क्रियाशील CSIT Association of Nepal – Rupandehi ले विद्यार्थीहरूको सीप अभिवृद्धि र व्यावसायिक विकासका लागि तीन दिने विशेष कार्यक्रम “CSITAN Networking Bootcamp 2082”भोलिदेखि तिलोत्तमा–३, ड्राइभरटोलस्थित होराइजन जी.बी.एस कलेजमा सुरु हुँदैछ।श्रावण २५ देखि २७ गतेसम्म चल्ने यस बुटक्याम्पमा आईटी क्षेत्रमा आवद्ध विद्यार्थी, नेटवर्किङमा रुचि राख्ने युवा तथा व्यावसायिकहरूलाई लक्षित गर्दै आधारभूतदेखि उच्चस्तरीय नेटवर्किङ तालिम दिइनेछ। हरेक दिन ८–९ घण्टासम्म सञ्चालन हुने गहन सत्रहरूमा सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत सिक्न पाउनेछन्।कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा CSITAN Rupandehi का उपाध्यक्ष आयुष चापागाईं रहनेछन्। उनी नेटवर्किङ तथा साइबर सुरक्षा क्षेत्रमा अनुभवी प्रशिक्षक हुन्। उनले तीन दिनको तालिममा नेटवर्किङ संरचना, ट्राबलशुटिङ, IP व्यवस्थापन, साइबर सुरक्षा, सिस्को उपकरण प्रयोग, फायरवाल कन्फिगरेसन, नेटवर्क टोपोलोजी, VLAN, IPv4 एड्रेसिङ, सबनेटिङ, Packet Tracer अभ्यास, करियर गाइड तथा CCNA जस्ता सर्टिफिकेसनसम्बन्धी अवलोकनसम्मको प्रशिक्षण दिनेछन्।तालिममा CISCO Packet Tracer, Eve-NG, CISCO Routers, Switches, Hubs जस्ता उपकरणहरू प्रयोग गरिनेछ। विस्तृत पाठ्यक्रम संस्थाको आधिकारिक फेसबुक पेजमा उपलब्ध रहेको छ।
CSITAN Rupandehi का अध्यक्ष माधव पौडेल का अनुसार, यो कार्यक्रम विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक रूपमा दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको हो। साथै, करियर गाइडेंस सेसन, प्रशिक्षकसँग प्रत्यक्ष अन्तर्क्रिया, र नेटवर्किङसम्बन्धी समस्या समाधान अभ्यास पनि समावेश हुनेछ।भविष्यमा पनि यस्ता व्यावसायिक विकास केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको अध्यक्ष पौडेलले बताएका छन्।
