बाणगङ्गा नगरपालिका–१, बैरियामा अवस्थित आवर विज्डम बोर्डिङ स्कुलमा कक्षा १ देखि १० सम्म अध्ययन गरेका विद्यार्थी राजेश पौडेलले हालै प्रकाशित कक्षा १२ को परीक्षाफलमा उल्लेखनीय सफलता प्राप्त गरेका छन्। उनले क्यानन कलेज बुटवलबाट अध्ययन गर्दै ३.९६ जिपिए ल्याउन सफल भएका छन्।
उक्त सफलताको अवसरमा विद्यालयमा एक भव्य कार्यक्रमको आयोजना गरियो। सोही कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण शर्मा न्यौपाने ले राजेशको मेहनत, लगनशीलता र समर्पणको प्रशंसा गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। उनले भने, “राजेश जस्ता मेधावी विद्यार्थी हाम्रो विद्यालयको गौरव हुन्। यस्ता सफलताले सम्पूर्ण शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीलाई थप प्रेरणा मिल्छ।”
विद्यालयकी सञ्चालिका कमला शर्मा न्यौपाने ले राजेशको उत्कृष्ट उपलब्धिलाई ऐतिहासिक सफलता भन्दै आगामी दिनहरूमा अझ उच्च स्थानमा पुग्ने विश्वास व्यक्त गरिन्। उनले थप भनिन्, “हाम्रो विद्यालयमा अध्ययन गरेका हरेक विद्यार्थीहरू जीवनमा केही न केही विशेष गर्छन् भन्ने प्रमाणस्वरूप राजेशको यो सफल यात्रा रहेको छ।”
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ पौडेलले पनि राजेशप्रति बधाई ज्ञापन गर्दै भन्नुभयो, “राजेश पौडेलले विद्यालयको नाम देशभर उजागर गर्ने कार्य गरेका छन्। यस्ता विद्यार्थीहरू नै हाम्रो शिक्षा प्रणालीका प्रेरणाका स्रोत हुन्। हामी सम्पूर्ण परिवार उनको उज्ज्वल भविष्यको कामना गर्दछौँ।”
विद्यालय परिवारले राजेशलाई सम्मानपत्र र उपहार प्रदान गर्दै उनको सफलताको उत्सव मनाएको थियो। कार्यक्रमले सम्पूर्ण शिक्षक, अभिभावक र विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थपेको छ।
