लीलामणि पोखरेल
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री तथा निलम्बित सांसद टोपबहादुर रायमाझीको मुद्दा अन्तिम चरणमा पुगेको छ। सो मुद्दामा अन्तिम किनारा लगाउनका लागि २०८२ आउँदो मङ्गलबार श्रावण २७ गते पुनः पेशी तोकिएको छ।
यसअघि असार १५ देखि अदालतको बिदा परेकाले अन्तिम बकपत्रका लागि श्रावण १८ गते पेशी तय गरिएको थियो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासमा सो मितिमा ६ जना जाहेरवालाको बयान दुई दिनमा सकिएको थियो।
आजसम्मको सुनुवाइमा रायमाझीको विपक्षमा कुनै पनि जाहेरवालाले प्रत्यक्ष रूपमा आरोप पुष्टि गरेका छैनन्। तर उनीसहित अन्य प्रतिवादीहरूमाथि ठगी, सरकारी कागज किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी अभियोगहरूमा मुद्दा चलिरहेको छ।
यो प्रकरणमा रायमाझीसहित पूर्वगृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, थापाका छोरा प्रतीक थापा, तथा पूर्वगृहसचिव टेकराज पाण्डेसहित ३६ जना प्रतिवादी छन्। तीमध्ये रायमाझी, पाण्डे लगायतका केही थुनामा छन् भने खाणसहित केही अभियुक्तहरू थुनाबाहिर रहेर मुद्दा लडिरहेका छन्।
अभियोजन र प्रतिवादी पक्षका बयानहरू, साक्षीका इन्कारी वकपत्रहरू सकिएसँगै अब मुद्दा अदालती निर्णयको अन्तिम चरणमा प्रवेश गरेको छ।
