भैरहवा ,
नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिको आयोजनामा “वित्तीय साक्षरता प्रवर्द्धनमा विद्यालय शिक्षाको भूमिका” भन्ने विषयमा केन्द्रित पहिलो अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा नबिल बैंकको सहप्रायोजनमा सम्पन्न सो प्रतियोगिता भैरहवाको होटल बुद्ध रेजेन्सी, एयरपोर्ट रोडमा आयोजना गरिएको थियो। प्रतियोगितामा रूपन्देही जिल्लाभरका १४ वटा स्थानीय तहबाट प्रतिनिधित्व गर्दै कक्षा १२ सम्म अध्ययनरत २७ जना विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। विद्यार्थीहरूले वित्तीय साक्षरताका विविध पाटाहरू र विद्यालय शिक्षाको भूमिकाका विषयमा प्रभावशाली तर्क,विभिन्न उदाहरण र आकर्षक प्रस्तुति शैलीमार्फत आफ्ना भनाइहरू प्रस्तुत गरेका थिए। तीव्र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगितामा बुद्ध पब्लिक इ.बो. स्कुल, देवदह नगरपालिकाकी अनुष्का भण्डारी प्रथम, लिटल फ्लावर्स इ.से. स्कुल, शुद्धोधन गाउँपालिकाका समर्थ फौदार द्वितीय, शान्ति नमुना मा.वि. तिलोत्तमा नगरपालिकाकी सर्बदा विश्वकर्मा तृतीय तथा दुर्गा शैक्षिक गृह, सियारी गाउँपालिकाकी प्रिन्सु पौडेल सान्त्वना स्थानमा विजेता घोषित भएका थिए। उनीहरूलाई क्रमशः नगद रु १५,०००, १०,०००, ५,००० र २,५०० सहित प्रमाणपत्रबाट सम्मान गरिएको थियो भने सबै सहभागीहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिका अध्यक्ष पदमराज भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक रमेश आचार्य हुनुहुन्थ्यो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले कर्मचारी युनियनहरूले केवल कर्मचारीका हकहितमा मात्र नभई यसरी बिद्यार्थी र विद्यालय स्तरमा सकारात्मक प्रभाव पार्ने महत्वपूर्ण कार्यक्रमको आयोजना गर्नु निकै प्रशंसनीय कार्य भएको बताउँदै कर्मचारी युनियनहरुले विभिन्न समयमा आयोजना गर्ने यस्ता खालका कार्यक्रमहरुमा आफ्नो सदैव साथ र सहयोग रहने बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय महासचिव कृष्ण प्रसाद खराल, शिक्षा विकास तथा समन्वय इकाई, रुपन्देही प्रमुख माधव बन्जाडे, एनबीए लुम्बिनी प्रदेश संयोजक अर्जुनबहादुर कडेलको विशिष्ट आतिथ्यता रहेको थियो भने विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रदेश प्रमुख, शाखा प्रबन्धकहरू र सहभागी विद्यालयका शिक्षक प्रतिनिधिहरू, अभिभावकहरू लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य संघका उपाध्यक्ष प्रकाश श्रेष्ठले राख्नुभएको थियो भने सञ्चालन संघका सचिव सन्दिप रसाइलीले गर्नुभएको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयका उपनिर्देशक सोमराज नेपाली संयोजक तथा पत्रकार भगवती पाण्डे र बैंकर एवं सञ्चारकर्मी आबिष्कार खनाल सदस्यका रूपमा रहनुभएको थियो। आयोजकका अनुसार यस प्रतियोगिताले विद्यार्थीहरूमा वित्तीय साक्षरताप्रति चेतना अभिवृद्धि गर्नुका साथै उनीहरूको अभिव्यक्ति क्षमता, आत्मविश्वास र सार्वजनिक वाककलामा महत्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रममा धन्यवाद एवं समापन मन्तव्य राख्दै संघका अध्यक्ष भुसालले प्रथम संस्करणमै विद्यार्थीहरूको उत्साहजनक सहभागिताले आफूहरूलाई थप हौसला मिलेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी, सहभागीमूलक र नियमित रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
