डब्बो, अष्ट्रेलिया डिसेम्बर ६, २०२५
डब्बो नेपाली समाज अष्ट्रेलिया (DNCA) को १०औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ, जसले सम्पूर्ण समुदायमा उत्साह, एकता र गर्वको वातावरण सिर्जना गरेको छ। सो साधारण सभाबाट नयाँ कार्यसमिति निर्वाचित भएको घोषणा गर्दै अध्यक्षमा राज खेरल, उपाध्यक्षमा भुवन लम्साल, सचिवमा शैलेन्द्र थापा, कोषाध्यक्षमा अग्रिता श्रेष्ठ तथा नानी बाबु पाठशालाको प्रमुखमा अस्मिता घिमिरे निर्वाचित भएका छन्।
यस कार्यसमितिमा कुल ३८ जना समर्पित समिति सदस्यहरू आबद्ध भएका छन्, जसले संस्थाको मजबुत संरचना र समुदायप्रतिको प्रतिबद्धता झल्काउँछ। निर्वाचन अधिकृतको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका संस्थाका सम्मानित सल्लाहकार रमेश शर्मा प्रति DNCA ले विशेष आभार व्यक्त गरेको छ। साधारण सभामा उपस्थिति जनाई कार्यक्रम सफल बनाउनु हुने सम्पूर्ण सहभागीहरूलाई पनि संस्थाले धन्यवाद दिएको छ। साथै, संस्थालाई आजको अवस्थामा पुर्याउन योगदान दिनु हुने सम्पूर्ण पूर्व अध्यक्ष, पूर्व पदाधिकारी तथा पूर्व समिति सदस्यहरूप्रति सम्मान प्रकट गर्दै विशेष रूपमा निवर्तमान अध्यक्ष राजीव भट्टराई र उहाँको नेतृत्वमा सम्पन्न भएका सफल कार्यक्रमहरू तथा समुदायप्रतिको समर्पणको उच्च प्रशंसा गरिएको छ। समुदायमा एकता, सहकार्य र सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने DNCA को लक्ष्य अनुसार नयाँ नेतृत्वले सबै सदस्यहरूसँग सहकार्य गर्दै संस्थालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ। नव–निर्वाचित अध्यक्ष राज खेरल तथा सम्पूर्ण कार्यसमितिलाई आगामी कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै DNCA ले नयाँ नेतृत्वबाट ऊर्जा, समावेशीपन र सफलताको अपेक्षा गरेको छ।
