भक्तपुर ,
भक्तपुरको नागरकोटस्थित रत्नागिरी रिसोर्टमा भदौ ६ र ७ (अगस्ट २२ र २३) मा सम्पन्न प्रेसिडेन्ट्स नाइट २०२५ भव्य र उत्साहपूर्ण रुपमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको यस कार्यक्रमले सम्पूर्ण जिल्लाभरका रोट्यार्याक्टरहरूलाई एकै स्थानमा भेला गराउँदै मित्रता, नेटवर्किङ र उत्सवको वातावरण सिर्जना गरेको थियो।कार्यक्रमको उद्घाटन समारोहमा आयोजक क्लबकी अध्यक्ष रोट्यार्याक्टर सदीक्षा कार्कीले अध्यक्षता गर्नुभएको थियो भने सम्पूर्ण कार्यक्रमको अध्यक्षता डिआरआर रोट्यार्याक्टर दिनेश गैरेले गर्नुभएको थियो।सो अवसरमा चाँगुनारायण नगरपालिकाका उप–प्रमुख रमेश बुढाथोकी प्रमुख अतिथि रहनुहुन्थ्यो भने, विशिष्ट अतिथिमा रोटेरियन किशोर त्रिपाठी, विशेष अतिथिमा पूर्व डिआरआर रोट्यार्याक्टर रोशन कार्की र डिआरआर–इलेक्ट रोट्यार्याक्टर प्रकाश शर्मा उपस्थित रहनु भएको थियो। प्रमुख अतिथिहरूको हातबाट डिस्ट्रिक्ट डायरेक्टरी र डिस्ट्रिक्ट टि–शर्टको पनि औपचारिक विमोचन गरिएको थियो।कार्यक्रममा सहभागीहरूको लागि विभिन्न रमाइला गतिविधि तथा प्रतिस्पर्धात्मक खेलहरू आयोजना गरिएको थियो।
विशेष आकर्षणको रुपमा आयोजित मिस्टर प्रेसिडेन्ट र मिस प्रेसिडेन्ट प्रतियोगितामा, मिस्टर प्रेसिडेन्टको उपाधि रोट्यार्याक्ट क्लब अफ पशुपति नेपाल ल क्याम्पसका अध्यक्ष रोट्यार्याक्टर आशिष सापकोटाले प्राप्त गर्नुभयो भने मिस प्रेसिडेन्टको उपाधि रोट्यार्याक्ट क्लब अफ पाटन हेरिटेजकी रोट्यार्याक्टर रोशिका डाँगीले जित्नुभयो।साँझको सत्रमा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरूले वातावरणलाई अझै उत्साहपूर्ण बनाएको थियो।दोस्रो दिन बिहान सहभागीहरू रमाइलो हाइकिङमा निस्किएका थिए, जसले आपसी मित्रता र सहकार्यलाई अझ प्रगाढ बनायो। त्यस्तै, डिआरआर सेसनमार्फत क्लब अध्यक्षहरूले आफ्ना समस्या, जिज्ञासा र सुझावहरू प्रत्यक्ष डिआरआरसँग राख्ने अवसर पाए। साथै, सर्पदंशसम्बन्धी सचेतना सत्र र युवाको भूमिका विषयक ज्ञानवर्धक सत्र पनि सम्पन्न भएका थिए, जसले सहभागीहरूलाई उपयोगी जानकारी र नयाँ दृष्टिकोण प्रदान गर्यो।प्रेसिडेन्ट्स नाइट २०२५ ले केवल रमाइलो र उत्सवको माहौल मात्रै होइन, नेतृत्व विकास, ज्ञान आदान–प्रदान, मित्रता र आपसी सम्बन्ध सुदृढीकरणमा समेत महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।कार्यक्रमको सफल आयोजना र व्यवस्थापनमा फेलोशिप चेयर रोट्यार्याक्टर सन्दीपको विशेष भूमिका रहेको आयोजकले जानकारी दिएको छ।
