जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई अझ प्रभावकारी बनाउन ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको छ।
अहिलेसम्म एसएमएसमार्फत मात्र सन्देश पठाउँदै आएको विभागले अब नेपाल टेलिकमसँग सहकार्यमा परीक्षणका आधारमा फोनमार्फत सन्देश पठाउन लागेको हो। विभागका बाढीविद् विनोद पराजुलीका अनुसार सबैले एसएमएस पढ्न नसक्ने भएकाले ‘भ्वाइस कल’ प्रयोग गर्न लागिएको हो।
उनका अनुसार पछिल्ला वर्षमा पूर्वसूचना प्रणालीका कारण बाढीबाट हुने क्षति कम भएको छ। तर पहाड र हिमाली क्षेत्रमा प्रणालीको पहुँच अझै कमजोर भएकाले त्यहाँ पनि विस्तार गर्न आवश्यक रहेको उल्लेख गरियो।
जलवायु तथा विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले हिमताल फुट्ने जोखिम बढेकाले त्यस्ता क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गरेर धनजनको क्षति न्यूनीकरण गर्न सकिने बताए।
विभागले यही सातादेखि परीक्षण थाल्ने तयारी गरेको छ।
