सैनामैना नमुना मा.वि. — उत्कृष्टता र गौरवको नयाँ उचाइमा, मेधावी विद्यार्थी र शिक्षक सम्मानित
सैनामैना — नगरमै उत्कृष्ट शैक्षिक नतिजा ल्याउँदै निरन्तर सफलता आर्जन गरिरहेको सैनामैना नमुना माध्यमिक विद्यालयले एक भव्य विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक नेत्रलाल पुरीले विगत वर्षहरूमा सञ्चालन गरिएका विविध शैक्षिक र सहशैक्षिक गतिविधिहरूको सकारात्मक प्रभावका कारण विद्यालयले नगरमै उच्चतम उपलब्धि हासिल गरेको उल्लेख गर्दै, “यस वर्षदेखि विद्यालयमा कानुन विषय समेत थपिएको छ, जसले विद्यार्थीहरूलाई नयाँ अवसर र उज्ज्वल भविष्यको बाटो खोल्नेछ,” भने।
कार्यक्रममा विद्यालयबाट नगरमै उत्कृष्ट नतिजा ल्याउने सनम थापालाई प्रथम, पूजा गैरेलाई द्वितीय र समिक्षा सुनारलाई तृतीय स्थान हासिल गरेबापत नगद, खादा र मायाको चिनो सहित सम्मान गरियो। साथै, ३.६ जीपीए भन्दा बढी ल्याउने विद्यार्थीहरूलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ। यसैगरी, आफ्ना विषयमा १००% नतिजा दिलाउन सफल शिक्षकहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
प्रमुख अतिथि नगरप्रमुख फणेन्द्र शर्मा समय अभावका कारण भौतिक रूपमा उपस्थित हुन नसके पनि शुभकामना सन्देशमार्फत विद्यालय र विद्यार्थीहरूलाई निरन्तर प्रगतिको लागि हौसला प्रदान गरे। विशिष्ट अतिथि नारायण महत र खुसीराम चौधरीले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र विद्यालयको व्यवस्थापकीय दूरदर्शिताको प्रशंसा गर्दै उज्वल भविष्यको शुभकामना व्यक्त गरे।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्यकै कारण विद्यालय निरन्तर उत्कृष्टताको यात्रा तय गरिरहेको बताए। स्वागत मन्तव्य विद्यालयका सहायक प्रध्यानाध्यापक लक्ष्मण आचार्यले गरेका थिए भने, सञ्चालन शिक्षक लता खड्का र सञ्जय गौतमले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रमको बीचमा विद्यार्थीहरूले मनमोहक नृत्य प्रस्तुति दिएका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सामाजिक तथा प्राज्ञिक व्यक्तित्वहरू, अभिभावक तथा स्थानीय समुदायको उत्साहपूर्ण उपस्थिति रहेको थियो।
