लीलामणि पोखरेल
काठमाडौ-भ्रष्टाचार मुद्दामा मुछिने गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने माधव कुमार नेपाल।
यसअघि, राजतन्त्रकालमा शेरबहादुर देउवा यस्तो आरोपमा जेल जाने पहिलो पूर्वप्रधानमन्त्री थिए। मेलम्ची खानेपानी आयोजना सम्बन्धी भ्रष्टाचार आरोपमा २०६२ साउन ११ गते उनलाई राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा दुई वर्षको जेल सजाय सुनाइएको थियो। सोही मुद्दामा देउवासँगै हालका उपप्रधानमन्त्री प्रकाशमान सिंह पनि पक्राउ परेका थिए। करिब सात महिनापछि दुबैजना रिहा भएका थिए।
२०६२ साउन ११, मंगलवार पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालिन मन्त्री अहिलेका उपप्रधानमन्त्री प्रकाशमान सिंह भ्रष्टाचारी ठहर भएर जेल गएका थिए
भ्रष्ट्राचार नियन्त्रण शाही आयोगले मेलम्ची खानेपानी आयोजनाको ठेक्कामा अनियमितता भएको अभियोगमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्व मन्त्री प्रकाशमान सिंहलाई दोषी ठहर्याएको थियो । भ्रष्टाचार नियन्त्रण शाही आयोगले शेरबहादुर देउवा तथा प्रकाशमान सिंह दुवैलाई जनही दुई वर्षको कैद तथा नौ करोड रुपैयाँ जरीवाना गर्ने फैसला गरेको थियो ।
देउवा नेपालको ईतिहासमै भ्रष्टाचारको अभियोगमा जेल सजाय पाउने सबैभन्दा वरिष्ठ राजनीतिक नेता थिए ।
अठ्तिस करोड नोक्सान
लगातार तीन महिनासम्म चलेको बहुचर्चित विवादास्पद मुद्दाको टुङ्गो लगाउँदै शाही आयोगको हरिहरभवनस्थित इजलाशले सजाय तोकेको थियो । आयोगका अध्यक्ष भक्तबहादुर कोइरालाको अध्यक्षतामा वसेको तीन सदस्यीय इजलाशले पूर्व प्रधानमन्त्री देउवालाई अर्बौं रुपैयाँ लागतको मेलम्ची खानेपानी आयोजनाको सडक निर्माणको ठेक्का प्रकरणमा भ्रष्टाचार गरेको ठहर गरेको थियो । सडक निर्माणको ठेक्का योग्यता नपुगेका ठेकेदारलाई रित नपुर्याई अस्वाभाविक रुपमा दिइएको र उक्त निर्णयबाट आयोजनालाई ३८ करोड रुपैयाँको नोक्सानी भएको शाही आयोगको ठहर थियो ।
सोही अभियोगमा तत्कालिन निर्माण तथा भौतिक योजना मन्त्री प्रकाशमान सिंह र सोही मन्त्रालयका तत्कालिन सचिव टीकादत्त निरौला र मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक ध्रुवबहादुर श्रेष्ठलाई पनि दोषी ठहर्याउँदै प्रत्येकलाई दुई बर्षको जेल सजायँ र विगो र जरिवाना गरि जनही नौ करोड रुपैयाँ तिराउने फैसला थियो ।
आयोजनाका उपनिर्देशक दीपक कुमार झा र ठेक्का पाउने जीप छिरिङ्ग लामालाई उक्त सजायँको आधा अर्थात एक–एक बर्षको कैद र विगो तथा जरिवाना समेत प्रत्येकलाई साढे चार करोड रुपैयाँ तिराउने फैसला थियो ।
अभियुक्त ठहर भएपछि शेरबहादुर देउवा र प्रकाशमान सिंहले भ्रष्टाचार नियन्त्रण शाही आयोगको फैसला राजनीतिक प्रतिशोधले प्रेरित भएको आरोप लगाएका थिए । त्यसपछि उनीहरुलाई ७ महिना जेल ठोकियो । पछि राजनीतिक परिवर्तनसँगै उनीहरु बाहिर आए । यसैले जनआन्दोलनमा उनीहरु अग्रमोर्चामा देखिन पाएनन् । स्रोत : बीबीसी नेपाली
नोट : केही सञ्चार माध्यममा भ्रष्टचारको अभियोग लाग्ने माधव कुमार नेपाल नै पहिलो पूर्व प्रधानमन्त्री भनिएको छ । गणतन्त्र आएपछि चै नेपाल पहिलो हुन् । यसअघि देउवा र तुलसी गिरिलाईपनि भ्रष्टचारको अभियोग लागेको थियो ।
